लेटाङ घटना : हत्यामा संलग्न भएको आरोपमा १५ जना विरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता – Nepal Press

लेटाङ घटना : हत्यामा संलग्न भएको आरोपमा १५ जना विरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता

विराटनगर । मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा १५ जना विरुद्ध बुधवार ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको छ ।

महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या प्रकरणमा संलग्न घटनामा पक्राउ परेका ६२ मध्ये १५ जनालाई जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जन्मकैदको माग दाबी लिएर मोरङ अदालतमा ‘कर्तव्य ज्यान’ मुद्दामा अभियोग दर्ता गरेको हो ।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कर्तव्य ज्यान मुद्दामा स्थानीय, डम्बर बहादुर कार्की, कान्छा भन्ने कृष्ण विश्वकर्मा, विशेष मगर, सन्तोष कुँवर, राजकुमार भन्ने कुमार बहादुर खोक्रेल, कपिल नेपाली, समीर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखा बहादुर मगरलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।

कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेका मध्ये पाँच जना प्रतिवादी फरार छन् । उनीहरूलाई पनि फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको उनले बताए ।

उनले भने, ‘फरारको नाम गोप्य राखिएको छ । तीन दिन सार्वजनिक बिदा भएकोले प्रतिवादीहरूको बयान आइतबारदेखि हुनेछ ।’

जिल्ला सरकारी वकिलको कार्यालयले १० जनालाई अभद्र व्यवहारको मुद्दामा प्रतिवादी बनाएको छ । भविन भन्ने जस्विन तामाङ, श्रवण यादव, अर्पण परियार, राम कुमार राई, अमृत खेवा लिम्बु, रुपेश राना मगर, सुरज अधिकारी, चन्द्र तामाङ, पासाङ तामाङ र रूपेश खड्का भन्ने प्रलात खड्काको दाबी नपुगेको कारणले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा अभियोग नचलाउने निर्णय गरेको अभिगोपत्रमा उल्लेख छ ।

कर्तव्य ज्यानमा मुद्दा नचलाएका सहित यो घटनामा पक्राउ परेका मध्ये ५१ जनालाई अभद्र व्यवहारको मुद्दा चलाएको छ । अभद्रमा ५१ मध्ये १५ जना नावलक छन् ।

नाबालकको हकमा मोरङ अदालतको बाल इजालशबाट आदेश हुन्छ भने उमेर पुगेको नावालक ३६ जनाको जिल्ला प्रशासन कार्यालय मोरङबाट आदेश हुने गरेको छ ।

नाबालक १५ जना प्रतिवादीको मंगलबारदेखि शिशिरराज ढकालको इजालशमा बयान सुरु भएको छ । बुधवारसम्म १० जना प्रतिवादीको बयान सकिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । बाँकी रहेका पाँचको आइतबार हुने उनले बताए ।

लेटाङ–५ मा गत चैत ६ गते भएको घटनामा महिला प्रहरी जवान २६ वर्षीया श्रेष्ठको गोली प्रहारबाट भएको पुष्टि भएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको पोस्टमार्टम रिपोर्टले महिला प्रहरीको गोली प्रहारबाट मुत्यु भएको उल्लेख छ ।

लेटाङ–५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका थिए ।

प्रदर्शन उग्र बनेर हिंसात्मक झडपमा परिणत भएको थियो । शिक्षक पौडेललाई पक्राउ गरेर फर्कँदै गरेको प्रहरी टोलीमाथि आक्रमण हुँदा श्रेष्ठ मारिएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *