भरतपुरको मेयर नपाउने चर्चाले चितवनका कांग्रेसीमा निराशा, एमाले उम्मेदवारलाई दिन थाले बधाई – Nepal Press

भरतपुरको मेयर नपाउने चर्चाले चितवनका कांग्रेसीमा निराशा, एमाले उम्मेदवारलाई दिन थाले बधाई

काठमाडौं । चितवनको भरतपुर महानगरपालिको मेयर पुनः नेकपा माओवादी केन्द्रकै भागमा पर्ने सम्भावना बढेसँगै सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

मुख्यतः चितवनका कांग्रेस नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत चर्को असन्तुष्टि जनाएका छन् । चितवनको भरतपुर महानगरपालिकाबाट मात्रै कांग्रेस केन्द्रीय समितिमा ६ जनाको प्रतिनिधित्व रहेको छ ।

गठबन्धनभित्र भरतपुर महानगरपालिकामा पुनः माओवादीले नै नेतृत्व पाउने सम्भावना बढेको सार्वजनिक भएसँगै कांग्रेस कार्यकर्ताहरूले गठबन्धनको विरुद्धमा कडा अभिव्यक्ति दिन थालेका छन् ।

यसअघि पनि चितवन कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेरै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने माग राखेका थिए । यद्यपि प्रधानमन्त्री एवं सभापति देउवाले गठबन्धन जोगाउने सर्तमा भरतपुरको मेयर पुनः माओवादीलाई नै दिन लचिलो देखिएका छन् ।

भरतपुरको मेयर कांग्रेसको भागमा नपर्ने चर्चासँगै पूर्व महाधिवेशन प्रतिनिधि एवं चितवन कांग्रेसका नेता सुबोध प्रधानले सार्वजनिक रूपमै एमाले उम्मेदवारलाई बधाई दिएका छन् । ‘मेयरको टिकट पाउनुहुने एमाले दाजुभाइलाई अग्रिम शुभकामना तथा बधाई’, प्रधानले फेसबुकमा लेखेका छन् । भरतपुरमा कांग्रेसले मेयर नपाउने अवस्थामा एमाले उम्मेदवारले जित्ने सम्भावना रहेकोतर्फ उनको स्टाटस लक्षित छ ।

चितवन कांग्रेसको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठले पनि आफू कांग्रेसको कार्यकर्ता भए पनि कसैको दास नभएको बताएका छन् । ‘म कांग्रेसको कार्यकर्ता हुँ, दास कदापि होइन । कसैको छोरी खुसी पार्न हाम्रो घर जलाउन कदापि दिने छैनौ’, श्रेष्ठले लेखेका छन् ।

कांग्रेस कार्यकर्ता रामचन्द्र पौडेलले पनि फेसबुक मार्फत विद्रोहको चेतावनी दिएका छन् । ‘चितवन कांग्रेसको भावनालाई नजरअन्दाज गरी महानगरको मेयर माओवादीलाई दिइयो भने चुनाव हार्ने त निश्चित नै छ त्यसले चितवन कांग्रेसमा विद्रोह ल्याउने र त्यसको असर देशभर पर्नेछ र त्यो कांग्रेसको लागि दुर्भाग्यपूर्ण हुनेछ’, पौडेलले लेखेका छन् ।

चितवनका धेरैजसो कांग्रेस कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट भरतपुर महानगरमा कांग्रेसबाहेकको नेतृत्व नस्विकार्ने चेतावनी दिइरहेका छन् । केही समयअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘चितवनका कांग्रेस नेताले भन्दैमा केही फरक नपर्ने, निर्णय केन्द्रबाट हुने’ अभिव्यक्ति दिएका थिए ।

गठबन्धनको शीर्ष बैठकमा भरतपुरसहित देशका प्रमुख महानगर र उपमहानगरबारे केन्द्रबाटै निर्णय लिने सहमति बनिसकेको छ ।

यस्तो अवस्थामा चितवनका कांग्रेसजनले जति नै विद्रोहको चेतावनी दिए पनि गठबन्धनबाट भरतपुरको मेयरमा प्रचण्ड पुत्री रेणुकै सम्भावना बढी देखिन्छ ।


प्रतिक्रिया

One thought on “भरतपुरको मेयर नपाउने चर्चाले चितवनका कांग्रेसीमा निराशा, एमाले उम्मेदवारलाई दिन थाले बधाई

  1. सुवोध प्रधान दाइ अवको भरतपुर महानगरको मेयर हुनु पर्छ हाम्रो चाहाना हो । सवै मिलेर उहाँलाइ सहयोग् गराै । विजय दाइलाइ त शुभकामना मात्रै काफी छ भोट दिनु पर्देन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर