आफैँले गरेको सर्कुलरविपरित चुनावमा जान विप्लव प्रयासरत, के थियो सर्कुलरमा ? – Nepal Press

आफैँले गरेको सर्कुलरविपरित चुनावमा जान विप्लव प्रयासरत, के थियो सर्कुलरमा ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टीको केन्द्रीय समितिले गरेको निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा होमिन लागेको छ । भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले आगामी स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो ।

पार्टीका महासचिव विप्लवले चुनावलाई उपयोग गर्नुपर्ने प्रस्तावसहितको प्रतिवेदन बैठकले रिजेक्ट गरिदिएको थियो । तर, त्यसपश्चात् पनि विप्लव निर्वाचनमा जाने अडानबाट पछि हटेका छैनन् । दुई दिनअघि मात्रै उनको पक्षका पार्टी प्रवक्ता निर्वाचन आयोगमै पुगेर परामर्श गरेका थिए ।

यसैबिच, पार्टीको बैठकपछि जारी गरिएको सर्कुलर सार्वजनिक भएको छ, जसमा निर्वाचनको उपयोग नगर्ने भनेर स्पष्ट उल्लेख छ । कपिलवस्तुमा ११ दिनसम्म बसेको पार्टीको केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकपछि पार्टी महासचिव विप्लवले नै केही दिनअघि ७७ वटै जिल्ला इञ्जार्ज र सेक्रेटरीलाई १२ बुँदे परिपत्र गरेका थिए ।

परिपत्रको चौथो बुँदा अन्तरगत ‘ख’ मा भनिएको छ, ‘आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने, तर एमसीसी एवम् राष्ट्रघात विरोधी प्रतिनिधिलाई सहभागी गराउने र सहयोग गर्ने, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिइएको छ ।’

‘ग’ मा पनि भनिएको छ, ‘स्थानीय चुनावलाई संघर्षको मोर्चा बनाउनुका साथै दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने ।’

सचिवालय सदस्यसमेत रहेका प्रकाण्ड भने निर्वाचन आयोगमा पुगेर स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि पार्टी दर्ता गर्ने सम्भावना छ कि छैन भनेर बुझेका थिए । त्यसै क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफमा उनले भनेका थिए, ‘हामी निर्वाचनमा सहभागी हुने हो । निर्वाचनमा सहभागी हुने प्रक्रिया बुझ्नका लागि आयोगमा आएका हौँ ।’

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार विप्लव र प्रकाण्डसहितका नेताले मन्त्रिपरिषद् बैठकमार्फत भए पनि स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउनका लागि दल दर्ता गर्ने प्रक्रिया फुकुवा गर्न आग्रह गरेका थिए ।

तर, त्यो सम्भावना टरिसकेका हुनाले स्वतन्त्र उम्मेदवारी दिएर भए पनि निर्वाचनमा सघाउन सत्तारुढ दलका नेताले सुझाएका थिए । त्यसपछि पनि दल दर्ता गर्ने कुनै प्रक्रिया बाँकी छ कि भनेर निर्वाचन आयोगमा बुझ्न प्रकाण्ड पुगेका हुन् ।

पार्टी सचिवालयका दुई जना सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले भने पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय विपरीत पार्टी महासचिव विप्लव र प्रकाण्ड गइरहेकाले त्यसो नगर्न सुझाव तथा चेतावनी दिएका छन् । तर, विप्लव र प्रकाण्ड भने दुवै जना सचिवालय सदस्य सुदर्शन र कञ्चनलाई पेलेरै जाने सोचमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर