देशको सेवा गर्न जागिर खाएका अनिल विदेशी भूमिमा ढले, बुबा भन्छन्- राज्यले सहयोग गरोस् – Nepal Press

देशको सेवा गर्न जागिर खाएका अनिल विदेशी भूमिमा ढले, बुबा भन्छन्- राज्यले सहयोग गरोस्

सुर्खेत । कंगोमा विद्रोहीको आक्रमणबाट घाइते भइ अस्पतालमा उपचारको क्रममा मृत्यु भएका अनिल गुरुङको बुबाले आफ्नो छोराको शव ल्याइदिन सरकारसँग माग गरेका छन् ।

अनिलका बुबा लालबहादुरले सबै आफन्त गाउँमै भएका कारण शव ल्याइदिन माग गरेका हुन ।

‘छोराको मृत्यु भएको हिजो साँझ ६ बजेमात्रै थाहा पाएँ । अस्ति पुस ८ गते मात्रै कंगो गएको थियो । देशको सेवा गर्न जागिर खाएको विदेशमा गएको तीन महिनामै मैले छोरा गुमाउन पुगेँ’, बुबा लालबहादुरले नेपाल प्रेससँग भने ।

गुर्भाकोट नगरपालिका- १४ मा बस्दै आइरहेका गुरुङको आर्थिक अवस्था कमजोर छ । अनिल २०६६ सालमा नेपाली सेनामा भर्ना भएका थिए । उनका श्रीमती र एक १२ वर्षका छोरा छन् । परिवारको सहारा छोराको मृत्युपछि आर्थिक घर-व्यवहारमा आर्थिक संकट थपिएको भन्दै परिवारले चिन्ता जनाएका छन् ।

लालबहादुरको अर्का एक छोरा र छोरी छन् । छोरीको विवाह भइसकेको छ भने कान्छो छोरा पढिरहेका छन् ।

उनी भन्छन, ‘कम्तीमा राज्यले आर्थिक सहयोग गरोस् । बुहारी/नातीलाई जीविका चलाउन समस्या नहोस् ।’

नेपाली सेनाले शान्ति मिसनमा गएका कोही सैनिकको मृत्यु भए उनीहरूको शव नेपाल ल्याउने गरिएको जनाएको छ । सैनिक मुख्यालयका सूचना अधिकारी सहायक रथी नारायण सिलवालले अनिलको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।

‘मिसनमा ज्यान गुमाएका सैनिकको शव पहिलेदेखि नै ल्याएर परिवारको जिम्मा लगाउने गरिएको छ । यसमा संयुक्त राष्ट्रसंघले पनि सहयोग गर्छ’, सिलवालले नेपाल प्रेससँग भने ।

उनका अनुसार अनिलसहित शान्ति सेनामा गएका ७२ जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *