झमक परिवारलाई काठमाडौं छोड्न बाध्य पार्ने असोज १७ को त्यो रात ! – Nepal Press

झमक परिवारलाई काठमाडौं छोड्न बाध्य पार्ने असोज १७ को त्यो रात !

इटहरी । चैत ९ गते नेपाल प्रेसमा प्रकाशित अन्तर्वार्तामा साहित्यकार झमक घिमिरेले काठमाडौंको सुविधासम्पन्न आवास छोडेको विषयमा सजिलोसँग भनिन्, ‘मान्छेका व्याक्तिगत कारण हुन्छन् । कति प्राविधिक कुराहरू हुन्छन् ।’

अन्तर्वार्ताकार नवीन काजी राईले सरकारले बनाइदिएको पक्की घर छोडेर धनकुटा जानैपर्ने कारण थप खोतल्न चाहेपछि झमक केही खुलिन् । २०६७ सालको मदन पुरस्कारप्राप्त लेखक घिमिरेले अन्तरवार्तामा भनेकी छिन्, ‘त्यहाँ (काठमाडौं) को वातावरण र सुरक्षाको कारणले मैले तत्कालैको लागि कचिडे (धनकुटा) नै फर्किने निर्णय लिएँ ।’

नेपाल प्रेसले सोधेकै प्रश्न आइतबार धनकुटाको झमक निवासमा पुगेर सोधिन् झमकलाई पाँच वर्षअगाडि एक लाख सहयोग गरेकी अस्ट्रेलिया निवासी शुभेच्छुक राधिका पोख्रेलले । झमकले खुट्टाले कापीमा लेख्दै भनिन्, ‘वातावरण र सुरक्षाको कारण म त्यहाँ बस्न सकिनँ तत्काललाई ।’

‘वातावरण र सुरक्षा’ को विषयमा झमकले धेरै नखुलाए पनि परिवारले भने खुलाएको छ । आइतबार नेपाल प्रेससँग धनकुटाको कचिडेमा कुरा गर्दै झमककी आमा आशादेवी घिमिरेले यसको थप विवरण सुनाइन् ।

000

२०७२ मंसिर २२ मा पशुपति क्षेत्र विकास कोषको बैठक बस्यो । बैठकले काठमाडौंको गोठाटारमा रहेको आफ्नो जग्गामा झमक घिमिरेलाई घर बनाइदिने निर्णय गर्‍यो ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले झमकलाई घर बनाउन जग्गा उपलब्ध गराउन लागिएको कुरा मंसिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराए । ओलीले प्रस्तावलाई ‘ओके’ गरे । त्यसपछि बन्यो लिफ्ट र सभाहलसहितको तीन तले घर । घर झमकको नाममा व्याक्तिगत नबनाएर झमक घिमिरे प्रतिष्ठानको नाममा बन्यो ।

ओली सरकारको पहिलो कार्यकालमा झमकको आवास बनाउने निर्णय भएर निर्माण अगाडि बढेको थियो । उनकै दोस्रो कार्यकालमा घर हस्तान्तरण भयो । २०७७ साउन ३ मा सरकारले झमकलाई घर हस्तान्तरण गरेको थियो । घर हस्तान्तरणमा सहभागी भएकी थिइन् प्रधानमन्त्री पत्नी राधिका शाक्य । झमकको ४०औं जन्मोत्सवको अवसरमा घर हस्तान्तरण भएको थियो ।

१ करोड ८० लाखमा बनेको तीन तल्ले घर पाएपछि चैत अन्तिम हप्ता झमक परिवार काठमाडाैं आयो । झमकका साहिँली र कान्छी बहिनी पढाइको कारणले धनकुटामै बसे । भाइ-बुहारीसहितका बाँकी परिवार काठमाडौं सरे ।

000

कागेश्वरी मनहरामा रहेको घरमा झमकको परिवारले आसपासको वातावरणमा रम्न सकेन । झमकका पिता कृष्णबहादुर घिमिरे पनि प्रेसर बिग्रेर पाँच वर्षबाट हिँडडुल गर्न सक्दैनन् । आमा आशादेवीको खुट्टा राम्रोसँग टेक्न गाह्रो छ । २० वर्ष अगाडि सिंधुवाबाट धनकुटा बजार आउने क्रममा सुकेपोखरीमा सवारी दुर्घटना हुँदा आशादेवी बसेको सिटकै तीन जनाको ज्यान गएको थियो । आशादेवी घाइते भइन् । खुट्टामा चोट लाग्यो । अहिले त्यही चोट बल्झेको छ । चोटै चोटको परिवारमा २०७८ असोज १७ गते राती अर्को चोट थपियो ।

१२ देखि १५ जना घरको पर्खालमा चढे । हातमा रड र चुप्पी लिएका थिए उनीहरूले । १२ बजेतिरको घटना हो त्यो । दशैं मान्न धनकुटा बस्दै आएका साहिँली र कान्छी बहिनीहरू पनि घरमै थिए ।

मध्यरातमा घरमा मान्छेहरू हतियार बोकेर चढेको थाहा पाएपछि परिवारका सदस्यले बत्ति बाले । बत्ती बालेर अनुहार देखिएपछि चढ्नेहरूले धम्की दिए । एकजनाले भने, ‘आज त बत्ती बालिस, भोलिको दिनमा तिमीहरू रहँदैनौ ।’

मध्यरातमा आएको यस्तो धम्कीले आत्तिएको परिवार रातभर सुतेन । बिहान उज्यालो हुँदा घरमा चाबी लाएर परिवारका सदस्यहरू धनकुटा आए । ६ महिना काठमाडौंको घरमा बसेर असुरक्षाले धनकुटा आएको पनि ६ महिना पुगेको छ । फेरि काठमाडौं जाने र बस्ने आशा कम छ ।

कत्तिसम्म परिवार आतंकित छ भन्ने बुझ्न आमा आशादेवीको गुनासो काफी छ । उनी आफ्नो घर भएको क्षेत्रबारे भन्छिन्, ‘नराम्रा जति सबै कामहरू त्यहीँ हुन्छन् ।’

घरपछाडि गाडी सिक्ने खुल्ला ठाउँ भएकोले भाग्न सजिलो भएको उनी बताउँछिन् । असुरक्षाको हद सम्झाउँदै आशादेवीले घर छोडेपछि पनि अष्टमीको दिन घर फुटाइएको बताइन् । अस्पताल र प्रहरी बिट बनाएर सुरक्षाको चर्चा गरिए पनि काम नभएको उनको गुनासो छ ।

असुरक्षित वातावरणसँगै शंकालु समाजले पनि समस्या थपेको छ । हिँड्न नसक्ने भएकोले झमक र बुबालाई घरमै कोभिड-१९ को खोप लगाउँदा स्थानीयले नकारात्मकरूपमा लिएको आशादेवीले बताइन् ।

सरकारले घर मात्रै बनाइदिएको भए पनि पानी-बत्तीको पैसा झमक परिवारले नै तिरेको स्थानीयले पत्याएका छैनन् । सरकारले नै खान-लाउन दिएको जस्तो कुरा गर्ने गरेको आमा आशादेवी बताउँछिन् ।

उनी भन्छिन्, ‘समाजले नै राम्रो तरिकाले हेरेन ।’

जसरी काठमाडौंमा सरकारले बनाइदिएको सुविधासम्पन्न घरमा जान परिवारमा डर छ, त्यसरी नै झमकलाई पनि डर छ ।

कुन शर्तमा काठमाडौं फर्कनुहुन्छ भन्ने प्रश्नमा झमकले भनिन्, ‘त्यहाँ अपराधीकरण रोक्नुपर्छ । सुरक्षित हुनुपर्छ ।’

000

झमक २०३७ असार २१ गते शुक्रबार पिता कृष्णबाहादुर घिमिरे र आमा आशादेवी घिमिरेकी जेठी छोरीको रूपमा जन्मिएकी हुन् । २०७९ असार २१ गते उनी ४१ वर्ष पुरा हुँदैछिन् । उमेरको अंक ४१ को ठिक उल्टो हुने १४ औं कृति जन्मदिनकै छेका पारेर आउने तयारी छ । चर्चित प्रकाशनगृह बुक हिलले उनको निबन्ध संग्रह ल्याउने तयारी गरेको छ । निबन्ध संग्रहको प्रकार र निबन्धको शीर्षक बारेमा झमकले खासै बोलिनन् ।

आउँदै गरेको निबन्धमा काठमाडौंको घरमा भएको असुरक्षाको कुरा आउँछ कि आउँदैन भन्ने प्रश्नमा पनि झमक खुलिनन् । बरु उनले मुस्कुराँउदै खुट्टाले डट च्यापेर एकै शब्दमा उत्तर लेखिन, ‘हेरौं !’

यो पनि पढ्नुस् : झमकसँग संवाद- काठमाडौंको सरकारी आवास छाडेर किन फर्किन् कचिडे ?


प्रतिक्रिया

3 thoughts on “झमक परिवारलाई काठमाडौं छोड्न बाध्य पार्ने असोज १७ को त्यो रात !

  1. ओहो दुखद खबर उहाँ हरुलाई छिटै पुनःस्थापन र सुरक्षा पनि गरियोस् सरकार

  2. त्यहाँबाट खेदाएर आपराधिक र पाशविक सोचको कसैले घर कब्जा गर्ने सोच बनाएको हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *