ओलीको प्रशंसा गर्दै करिश्माले भनिन् : उहाँको कुरा सुनेर अघाउँदिन(भिडिओ) – Nepal Press

ओलीको प्रशंसा गर्दै करिश्माले भनिन् : उहाँको कुरा सुनेर अघाउँदिन(भिडिओ)

‘कुनै सौदावाजी बिना कार्यकर्ता बनेर आएको हुँ’

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले पार्टी अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेकी छन् । आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको उनले बताइन् ।

पार्टी प्रवेश कार्यक्रममा रातो पहिरनमा उपस्थित भएकी करिश्माले छोटो मन्तव्य दिएकी थिइन् । जसमा उनले आफूले एमाले रोज्नुमा दुई कारण प्रस्तुत गरिन् । पहिलो कारण अध्यक्ष केपी शर्मा ओली भएको उनको भनाइ थियो ।

करिश्माले भनिन्, ‘मैले नेकपा एमालेमार्फत राजनीतिमा अघि बढ्ने अठोट गरेको छु । यसका तीनवटा कारण छन् । पहिलो कारण भनेको अध्यक्ष ओली हुनुहुन्छ । यो मैले उहाँलाई फुर्काउन भनेको होइन ।’

ओली मन पर्नुको कारणबारे करिश्माले यसरी प्रष्ट पारिन्, ‘नेता भनेको जनताको पथप्रदर्शक हो । जनताको भविष्य सुनश्चित गर्ने पात्र हो । म त्यो विशेषता ओलीमा पाउँछु । उहाँको एनर्जी देखेर ताजुब लाग्छ । म उहाँको कुरा सुनेर थाक्दिन । दुईपटक भेट हुँदा उहाँको कुरा अत्यन्तै उत्साहजनक र प्रेरणादायी लाग्यो । उहाँको गुनगान नगाउने कोही छैन । अर्को पार्टीको मान्छेले पनि गुनगान गाएकै हुन्छ ।’

दोस्रो कारण प्रस्तुत गर्दै करिश्माले एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको बताइन् । एमाले प्रतिपक्षमा रहे पनि देशको पहिलो पार्टी भएको उनको भनाइ थियो ।

करिश्माले आफू कुनै पदको लोभमा एमाले नआएको बताइन् । यद्यपि, पार्टीले विश्वास गरेर जिम्मेवारी दिएमा स्वीकार्ने भनाइ छ ।
‘म यो स्पष्ट पार्न चाहन्छु कि म कुनै पदको सौदावाजी गरेर आएको होइन । नितान्त कार्यकर्ताको रुपमा आएको हुँ । तर, पार्टीले विश्वास गरेर जिम्मेवारी दियो भने स्वीकार्छु ।’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर