विदेशी विनिमय सञ्चितिमा समस्या, कारण र समाधानका उपायहरु – Nepal Press
नेपाल चिन्तन

विदेशी विनिमय सञ्चितिमा समस्या, कारण र समाधानका उपायहरु

नेपालको अर्थतन्त्रमा अहिले आयात व्यापार निरन्तर बढ्दो छ । निर्यात व्यापार भने आयातको तुलनामा नगन्य मात्रै छ । सोही कारण व्यापारघाटा दिनानुदिन बढिरहेको छ ।

कोभिड महामारीले थला परेको पर्यटन क्षेत्रका कारण नेपालका होटल व्यवसायहरु लामो समयसम्म प्राय बन्द रहन पुगे । विदेशी नागरिकहरुको नेपाल आगमन घट्नुका साथै विदेशमा काम गर्न जाने श्रमिकको संख्या पनि निरन्तर दुई वर्षदेखि कम हुँदै गएको देखिन्छ । विदेशमा कार्यरत नेपालीहरुले पनि संकुचित विश्वव्यापी अर्थतन्त्रका कारण सोचेअनुरुप प्रर्याप्त आर्जन गर्न नसक्दा नेपालमा पठाउने रेमिट्यान्सको रकम समेत घटिरहेको देखिन्छ ।

विभिन्न कारणहरुले अहिले नेपालमा विदेशी विनिमयको आपूर्ति तथा सञ्चिति कम भइ अर्थतन्त्र नै समस्याग्रस्त अवस्थामा पुग्ने आँकलन गर्न थालिएको छ । यस्तो विदेशी मुद्रा सञ्चितिमा देखिएका समस्याका कारण र यस्ता समस्याहरुको समाधानका उपायहरु के हुन सक्छन् ? यसै विषयमा केन्द्रित भएर यो आलेख तयार गरिएको छ ।

विदेशी विनिमय सञ्चितिमा समस्या देखिनुका कारणहरु

नेपालको अर्थतन्त्रमा अहिले देखिएका समस्याहरु एक्कासी आएका होइनन् । यी समस्या देखिनुमा विभिन्न कारणहरु छन् । करिब दुई वर्षदेखि विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारी र लकडाउन आदिका कारण तत्काल हाम्रो अर्थतन्त्र पनि संकुचित हुन पुगेको थियो । आन्तरिक उद्योगधन्दा र व्यापार–व्यवसायसमेत घटेका कारण कोरोना उपचारसँग सम्वन्धित मालवस्तु, दैनिक उपभोग्य वस्तु र अनिवार्य आवश्यकताका वस्तुवाहेक अन्य मालवस्तुको आयात संकुचित भएको थियो ।

अहिले लकडाउनका कारण खुम्चिएको अर्थतन्त्रका क्षेत्रमा एक्कासी खुलापन तथा हलचल भै अर्थतन्त्रका सबै पाटाहरु खुला भएकोले उद्योग, व्यापार र उपभोगजस्ता सबैजसो क्षेत्रमा आकस्मिक चहलपहल बढ्न पुगेको छ । हिजो बन्दप्राय रहेका आन्तरिक उत्पादनका उधोगधन्दाहरुसमेत अहिले नियमित चल्न थालेकाले त्यस्ता उद्योगका कच्चा पदार्थ र उपभोगका लागि समेत आयात बढ्न पुगेको छ ।

महंगा र विलासी सवारीसाधनको समेत परिमाणात्मक रुपमा नै आयात एक्कासी बढेको छ । विद्युतीय सवारीसाधन प्रयोगको लहर चलेको छ । विद्युतीय सवारीसाधनको लागत मूल्य अन्य सवारीसाधन भन्दा बढी हुने हदा यस्ता साधनको पैठारी बढ्दा बिदेशी मुद्रा बढी पठाउनुपर्ने हुन्छ । अन्य सवारीसाधन समेतको अत्यधिक आयात भइरहेको छ ।

कुनै पनि समस्याको कारण संगै समाधानका उपायहरु समेत हुन्छन् । नेपालको अर्थतन्त्रमा अहिले देखिएको विदेशी विनिमय अभाव पनि समाधानै हुन नसक्ने समस्या हैन । यस्तो समस्या सृजना हुनुको यथार्थ कारणहरु पहिचान गरेर त्यसको समयमै समाधानका लागि उपयुक्त कदम चाल्नु भने जरुरी छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्य र सोअनुसार भारतसँग समेत मूल्य समायोजन गर्न नसक्दा भारतीय सवारी साधनले समेत नेपालमा नै तेल भर्ने र भारतीय सीमावर्ति क्षेत्रमा चोरी निकासी समेत हुने कारण पेट्रोलियम पदार्थको आयात परिमाण घट्न सकेको छैन । यसरी समग्र आयात बढे पनि सोअनुसार हाम्रो आन्तरिक उत्पादन र निकासी बढाउन सकिएको छैन ।

आयातको मात्रा र मूल्य एक्कासी बढेको तर त्यहीअनुसार निर्यात बढाउन नसकेबाट बिदेशी बिनिमयमा चाप पर्नु स्वभाविक हो । कोरोना महामारीकै कारण होटल ब्यवसाय र पर्यटकीय गतिबिधि तथा आगमन समेत कम भएकोले पर्यटनबाट आउने बिदेशी मुद्रा समेत कम हुन पुगको देखिन्छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरु समेत महामारीका बेला नियमितभन्दा कम गएका र गएकाले समेत पर्याप्त आर्जन गर्ने गरी कार्य गर्न नपाइ काममा समेत संकुचन आउँदा नियमित जस्तो पर्याप्त मात्रामा विदेशी मुद्रा नेपाल पठाउन नसकेकोले रेमिट्यान्स रकमसमेत घटेको छ ।

डिजिटल र भर्चुअल करेन्सी तथा ओटीटी भुक्तानी सुविधा र सामाजिक संजालमा हुने विज्ञापनमा जाने रकमका कारण विदेशी मुद्रा अपचलन तथा हुण्डी बढेको छ । सहकारीको नाममा व्यवसाय गर्न खुलेका अधिकांस सहकारी संस्थाहरु बचत तथा ऋण लगानी गर्ने र केही त्यस्ता संस्थाहरुबाट गैरकानुनी हुण्डीको कारोबार गर्ने गरेकोले त्यस्ता सहकारीबाट समेत विदेशी विनिमयको अपचलन बढ्दो छ ।

विदेशी विनिमय अपचलनका कार्यमा नियन्त्रण तथा कारबाही गर्ने हाल कार्यान्वयनमा रहेको पुरानो र अस्पष्ट कानूनी व्यवस्था र संगठन संरचनाका कारण गैरकानूनी कारोबारले प्रोत्साहन पाइरहेको छ । यसरी यीनै कारणहरुले नेपालमा विदेशी विनिमयको हाल अभाव हुन गएर नेपालको अर्थतन्त्रमा मुख्य समस्याको रुपमा देखिएको हो ।

समाधानका उपायहरु

कुनै पनि समस्याको कारण संगै समाधानका उपायहरु समेत हुन्छन् । नेपालको अर्थतन्त्रमा अहिले देखिएको विदेशी विनिमय अभाव पनि समाधानै हुन नसक्ने समस्या हैन । यस्तो समस्या सृजना हुनुको यथार्थ कारणहरु पहिचान गरेर त्यसको समयमै समाधानका लागि उपयुक्त कदम चाल्नु भने जरुरी छ ।

समस्या समाधानको उपाय भनेको बिदेशी मुद्राको संचितिमा सुधार नहुन्जेल तत्काल अनावश्यक र रोक्न मिल्ने आयातमा नियन्त्रण गर्नु नै हो । त्यसका लागि सबैभन्दा पहिले नेपालमा तत्काल आयात नगर्दा असर नपर्ने महंगा, अनावश्यक र बिलासी बस्तुहरुको पहिचान गर्नु पर्दछ । वाणिज्य मन्त्रालयबाट सूचना निकालेर त्यस्ता मालबस्तुहरुमा अस्थायीरुपमा केही समय प्रतिबन्ध लगाएर आयात पूर्णरुपमा नै बन्द गर्न सकिन्छ । सुन, चाँदी ,महंगा र धेरै मुल्य पर्ने सवारीसाधनहरु, व्यापार विचलन भै भारत तस्करी भै जाने तथा तत्काल केही समय आयात रोक्दा दैनिक जनजीवनमा असर नपर्ने मालबस्तुहरु र बिलासी बस्तुहरु त्यस्ता प्रतिबन्ध लगाउने मालबस्तुहरु हुन सक्छन् ।

आन्तरिक उत्पादन बढाउने उत्पादनशील उद्योगका आवश्यक कच्चा पदार्थ र दैनिक आवश्यकता तथा नेपालमा उत्पादन नहुने तर आवश्यकताका मालबस्तुहरुको आयातमा भने नीतिगत रुपमा नै प्रोत्साहन गरी सहजीकरण गर्नु जरुरी छ । जसबाट आन्तरिक उत्पादन बढ्ने र आयात स्वत निरुत्साहीत हुदै जाने हुन्छ । निकासीमूलक उद्याेगलाइ प्रोत्साहन गरी कच्चा पदार्थको आयात समेत सहज बनाइ अन्य सुविधाहरु समेत दिएर आवस्यक संरक्षण गर्नुपर्दछ ।

पेट्रोलियम पदार्थ महंगो भए पनि सीमावर्ती बजारसंगको मूल्यमा समेत ध्यान दिइ मूल्य कायम गर्नु पर्दछ । यसबाट विचलन हुने वा चोरी निकासी हुने महंगो पेट्रोलियम पदार्थको नेपालमा आयात घट्न जान्छ भने आयल निगमलगायत सरकारी संस्था पनि आर्थिकरुपले सक्षम बन्दै जानेछ ।

विदेशी विनिमय अपचलनका कार्यमा नियन्त्रण तथा कारबाही गर्ने हाल कार्यान्वयनमा रहेको पुरानो र अस्पष्ट कानूनी व्यवस्था र संगठन संरचनाका कारण गैरकानूनी कारोबारले प्रोत्साहन पाइरहेको छ । यसरी यीनै कारणहरुले नेपालमा विदेशी विनिमयको हाल अभाव हुन गएर नेपालको अर्थतन्त्रमा मुख्य समस्याको रुपमा देखिएको हो ।

कोरोना महामारी क्रमश कम हुँदै गएकाले पर्यटकहरुलाई तुरुन्त आकर्षण गर्ने गरी पर्यटकीय गतिविधि बढाउनु पर्दछ । वैदेशिक रोजगारीमा रहेका समस्याहरु समाधान गरी श्रमिकहरुमा दक्षता बढाइ दक्ष श्रमिकहरु मात्र विदेशमा काम गर्न पठाउने नीति लिनु प्रभावकारी हुनेछ ।

यसरी गएका श्रमिकहरुले आर्जन गरेको रकम वैधानिक बाटोबाट सरलरुपले नेपाल पठाउन नीतिगत रुपमै प्रोत्साहन र सहजीकरण गर्न सकिन्छ । गैरकानूनी डिजिटल करेन्सीको कारोबार, सामाजिक संजालमा हुने विज्ञापन र त्यसको भुक्तानीमा निगरानी बढाउने र हुण्डीलगायतका गैरकानूनी कारोबारलाई उपयुक्त कानूनी व्यवस्था गरी पूर्णरुपमा निरुत्साहीत गर्न पनि जरुरी भएको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ लाई समसामयिक बनाइ विदेशीे मुद्राको अपचलनमा कडा कारबाही गर्ने पनि अहिलेको प्रमुख विकल्प हो । अहिले बैकिङ क्षेत्रभन्दा सहकारीबाट बढी नगद कारोबार हुने र गैरकानूनी आर्जन लुकाउन र हुण्डीलगायतको कारोबार अत्यधिक मात्रामा सहकारीको माध्यमबाट बढेकोले त्यसक्षेत्रमा समेत निगरानी बढाउन जरुरी भैसकेको छ ।

विलासी मालवस्तुहरु र महंगा सवारीसाधनहरुको आयात क्षेत्रमा अर्थतन्त्र सामान्य अवस्थामा नआउन्जेल र बजारमा लगानीयोग्य रकम पर्याप्त नहुन्जेल केही समयका लागि निरुत्साहीत गर्न विभिन्न नीतिगत व्यवस्था गर्न सकिन्छ । यसरी उल्लेखित कदमहरु चाल्न सकेमा अहिले नेपालको अर्थतन्त्रमा देखिएको विदेशी मुद्रा अभावको समस्याहरु क्रमशः समाधान हुँदै जानेछ । र दीर्घकालमा यस्ता समस्याहरु नै हाम्रा अर्थतन्त्र सुधारका माध्यम पनि बन्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *