रुपन्देहीको दक्षिणी भेगमा एमाले प्रवेशको लहर  – Nepal Press

रुपन्देहीको दक्षिणी भेगमा एमाले प्रवेशको लहर 

रुपन्देही । नेकपा (एमाले)का लागि सबैभन्दा कमजोर जनाधार क्षेत्र मानिने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमाले प्रवेशको लहर चलेको छ ।

रुपन्देहीका दुई पालिकाहरु रोहिणी र ओमसतिया गाउँपालिकाका निर्वाचित अध्यक्षहरु सोजकुमार यादव र हिरा केवट एमालेमा प्रवेश गरेयता आएको प्रवेशको लहर मायादेवीहुँदै समरीमाईसम्म पुगेको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए ।

आइतबार भारतसँगको सिमानामा पर्ने समरीमाई– २ स्थित वनगाईमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वडाका रजमन्ता कहाँर, साधु देवान, राजमति कहार, परशुराम हरिजन, अकवर अली, किसमति केवट सहित ५८ जना, वडा नं. ४ बाट पानमति हरिजन, विन्दा लोध, सुवास हरिजन, सन्तराम भुज, रामदेव लोध, सुराती हरिजनसहित ६० जना, वडा नं. ५ बाट बजीव अली, लालमन लोध, मिर्रे लोध, मिर्रे चौवे सहित ३६ जना, वडा नं. ६ बाट मकवुल लोध, शैलेन्द्र यादव, निदरद तेली, चीनक धोवी, मगरु पासी समेत ५५ गरी २ सय ९ जना एमाले प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र मधेसी पार्टीहरुबाट प्रवेश गरेका उनीहरुलाई नेकपा (एमाले) केन्द्रीय सदस्य भूमिश्वर ढकाल, रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, प्रदेश सदस्य बाबुलाल यादव, सांसद सुनिता ठटेरलगायतले अवीर र खादा लगाएर स्वागत गरेका थिए ।

केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले एमाले नेतृत्वको समयमा सरकारले गरेका कामले अहिले देशैभरी एमालेप्रति लहर आएको प्रसंग कोट्याउँदै रुपन्देहीको मर्चवार क्षेत्रबाट सूर्योदय भएको र अब एमालेलाई परास्त गर्ने शक्ति कसैसंग नभएको दाबी गरे ।

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले रुपन्देहीमा नेकपा एमालेले बहुमत पालिकाहरुमा विजय प्राप्त गर्ने गरी रणनीति बनाइरहेको प्रसंग उल्लेख गर्दै विगतमा पराजय व्यहोर्नुपरेका स्थानहरु योपटक पहिलो हुने दाबी गरे । प्रदेश सदस्य बाबुलाल यादवले एमाले नेतृत्वको सरकारको पालामा सुरु गरेको सडक निर्माण मर्चवारको लागि महत्वपूर्ण आयोजना रहेको वताउँदै आगामी निर्वाचनमा खासगरी मधेसमा एमाले विजयलाई कुनै तागतले रोक्न नसक्ने विश्वास ब्यक्त गरे ।

वरिष्ठ पत्रकार डी.आर. घिमिरेले लामो समयसम्म मर्चवारको सत्ता चलाउनेले एउटा क्याम्पस र एउटा अस्पताल किन बनाउन सकेनन् ? एमाले नेतृत्वको सरकारले वनाउनसक्ने सडकलाई किन उनीहरुले प्राथमिकता दिन सकेनन् ? भनेर यहाँका नागरिकले अब प्रश्न उठाउनुपर्ने बताए । सो अवसरमा सांसद सुनिता ठटेर, मुस्लिम मुसलमान, रहिम मुसलमान लगायतले मधेसबाट एमालेको सूर्य उदाउन थालेको र तराईमा एमाले विरोधी भ्रमलाई चिर्न सकिएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर