नागरिकको दैलोमा पुग्दा कांग्रेसले गर्नैपर्ने १० काम – Nepal Press

नागरिकको दैलोमा पुग्दा कांग्रेसले गर्नैपर्ने १० काम

नेपाली कांग्रेस यतिबेला स्थानीय निर्वाचनको १ महिने अभियानमा होमिएको छ । बैशाख ३० गते हुने निर्वाचनमा जित हासिल गर्ने लक्ष्य लिएर कांग्रेसका नेता कार्यकर्ताहरु जिल्लादेखि वडासम्म पुगेका छन् । हरेक निर्वाचनको बेला नागरिकको घर–घर जाने कार्यक्रमलाई कांग्रेसले मात्रै होइन अरु दलहरुले पनि निरन्तरता दिएकै हुन्छन् । नागरिकको घर–घर पुग्ने, प्रचारप्रसार गर्ने, प्रशिक्षण दिने लगायतका कार्यक्रमहरुको प्रभावकारिताबारे भने कहिल्यै समिक्षा हुने गरेको पाइँदैन । अझ कांग्रेसमा त विगतदेखि नै कार्यक्रमका लागि कार्यक्रम गर्ने र उपलब्धी शून्य देखिने परम्परा नै रहेको छ । यस्तो सन्दर्भमा कांग्रेसले आफ्नो चुनावी अभियानलाई प्रभावकारी बनाउन केही कामहरु गर्नैपर्ने देखिन्छ । कांग्रेसको शुभचिन्तकका हिसाबले नेपाली कांग्रेसले आफूलाई प्रभावकारी बनाउन गर्नैपर्ने कामहरु भूमिका नबाँधीकन सुझाउन चाहन्छु ।

१) नागरिकको घरघरमा पुगेका नेता कार्यकर्ताहरुले सबैभन्दा पहिले नागरिकले सोध्ने सम्भावित सबै प्रश्नको जवाफ दिन सक्षम छु कि छैन भनेर आत्ममूल्यांकन गर्नुपर्छ ।

२) कांग्रेसका नेता पुगेका कारण नागरिकको दैनिकीमा असर पर्नुहुँदैन । त्यसैले घर–घरमा पुग्दा उनीहरुको नियमित कामलाई असर नपर्ने बेलामा पुग्नुपर्छ । मिलेसम्म उनीहरुको काममा पनि सघाउनुपर्छ ।

३) औपचारिक कार्यक्रमका लागि अत्यधिक खर्च र तामझाम गर्नुभन्दा अनौपचारिक ढंगले टोल–टोलमा पुगेर आम मतदाताबीच पार्टीका प्रष्ट कुराहरु राख्नुपर्छ ।

४) विगतमा सरकारमा रहँदा कांग्रेसबाट भएका कमजोरीले नागरिकमा नकरात्मक प्रभाव परेको हुनसक्छ । त्यसबारे प्रसंगमा संयमताका साथ आफ्नो कुरा राख्ने, गल्ती भएका विषयमा आत्मालोचना गर्ने र नागरिकको नजरमा कमजोरी ठहरिएका विषयहरु फेरी दोहोरिने छैनन् भनेर प्रतिवद्धता जनाउनुपर्छ ।

५) कांग्रेस सरकारमा हुँदा मुलुकले हासिल गरेका महत्वपूर्ण उपलब्धी, त्यसबाट आजसम्म समाजमा परेको सकरात्मक प्रभावका बारे मतदातालाई बुझाउनुपर्छ । कांग्रेसको नेतृत्वमा कार्यान्वयन भएका सफल आयोजनाहरुबारे मतदातालाई अपडेट गराउनुपर्छ ।

६) पार्टी सरकारमा हुँदा परिचालन भएकोे वैदेशिक सहायता वा अनुदानले पारेको सकरात्मक प्रभावलाई सही ढंगले बुझाउन सक्नुपर्छ । एमसीसी लगायतका वैदेशिक सहायताबारे छरिएको भ्रम चिर्न मतदातासँग अत्यधिक संवाद गर्नुपर्छ ।

७) विगतमा कम्युनिष्ट पार्टीहरुले विभिन्न बाहनामा कार्यान्वयन हुन नदिएका ठूला विकास परियोजनाहरु बन्न नसक्दा परेको असर र विकासमा पुगेको बाधाबारे हरेक मतदातालाई अवगत गराउनुपर्छ ।

८) कांग्रेस नेतृत्वका स्थानीय तहले गरेका राम्रो कामको प्रचारसँगै कतिपय पूरा गर्न नसकिएका योजनाबारे नागरिकलाई पारदर्शी कुरा राख्नुपर्छ । कांग्रेसले प्रतिवद्धता गरेको कुनै काम गर्न बाँकी रहेछ भने त्यसमा आत्मालोचना गरेर सम्बन्धित जनप्रतिनिधिकै रोहबरमा आगामि दिनमा ती प्रतिवद्धता कार्यान्वयन गर्ने सुनिश्चितता गर्नुपर्छ ।

९) अघिल्लो निर्वाचनमा पार्टीले तयार पारेको घोषणा पत्र अनुसार भएका काम र हुन नसकेका कामको सूची बनाएर अध्ययन गर्नुपर्छ । अब घोषणापत्र बनाउँदा विगतमा हुन नसकेका आवश्यक कामहरुप्रति थप प्रतिवद्धता देखाउनुपर्छ । त्यस्तै घोषणा पत्र अनुसार काम गर्न नसकेका विपक्षी दलका जनप्रतिनिधिरुबारे मतदातालाई थाहा दिनुपर्छ ।

१०) कांग्रेसले नै नेपालीलाई प्रजाबाट नागरिक बनाएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको उपस्थिति आन्दोलनको मात्रै अगुवाई गर्ने नभएर विकास र सुशासनको अग्रसरता लिनपनि महत्वपूर्ण छ । आम नेपालीलाई रैती, प्रजा वा जनता नभएर सार्वभौम नेपाली नागरिकका रुपमा सम्बोधन गरेर कांग्रेसले अभियानलाई प्रभावकारी बनाउनुपर्छ ।

माथि उल्लेखित काम गर्न सकेमा कांग्रेसको घरदैलो अभियान अझ बढी प्रभावकारी हुनसक्छ । आजको विश्वमा राजनीतिक दलहरुले नागरिकसँग जति बढी संवाद गर्नसक्छन् त्यति नै बढी सफलता हासिल गर्नसक्छन् । नागरिकको घरघरमा पुग्ने तर कुनै तार्किक परिणाम नआउने क्रम अब रोकिनुपर्छ । घरदैलोमा पुग्दा नागरिकहरुले दिएका सुझावलाई सही ढंगले केलाएर समिक्षा गर्नुपर्छ । औपचारिकताका लागि मात्रै मतदातासँग अन्तरक्रिया गर्नुको अर्थ हुँदैन । त्यसैले जारी अभियानमा कांग्रेसले आम नागरिकका अपेक्षाको सम्बोधन, भ्रमको निवारण र चाहना पूरा गर्ने सशक्त प्रतिवद्धता गर्न जरुरी देखिन्छ । तब मात्रै कांग्रेसको अभियान र विजय यात्रा सार्थक हुनेछ । जय नेपाल ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *