नेपालबाट धेरैलाई स्केट खेल्न ओलम्पिकमा पठाएर दक्षिण एशियाकै नमुना बनाउँछु – Nepal Press

नेपालबाट धेरैलाई स्केट खेल्न ओलम्पिकमा पठाएर दक्षिण एशियाकै नमुना बनाउँछु

स्केट खेललाई व्यवसायिक बनाउने जागृत पहाडी

रुपन्देही । केही वर्षअघि बुटवलका जागृत पहाडीका बुवा विनोद पहाडीले छोरालाई स्केट खेलमा चासो राख्दा राम्रैगरी गाली गरेको बिर्सेका छैनन् । आफू समाज परिवर्तन र सचेतनाको अभियानमा हिंडेका पहाडीले छोराले राम्रै पढेर राम्रो आर्थिक उपार्जन गरेर नाम कमाओस् भन्ने चाहना राखेर छोराको स्केट खेलको चाहनामा ब्रेक लगाउन धेरै प्रयास गरे ।

मेरो उद्देश्यविपरीत छोराले यो खेलमा चासो राखेको मन परेको थिएन, अनि किन यसो गरेको भनेर हप्काएँ, अर्को दिन त स्केट खेलले कसैलाई हानी गर्दैन भनेर ५ हजार टिसर्ट छापेर ल्याएछ,’ पुरानो दिनको सम्झना गर्दै विनोद भन्छन्, अहिले छोराको प्रगति हेरेर त्यो दिनको गालीको पश्चाताप गरिरहेको छु ।

जागृतले अहिले दक्षिण एशियामै पहिलो पटक स्केट खेललाई व्यवसायिक बनाउन अभियान चलाएका छन् । स्केटका अन्तर्राष्ट्रिय खेलाडीलाई नेपाल ल्याएर, यसका संस्थापक अध्यक्ष तथा प्रशिक्षकलाई ल्याएर यस खेलका पारखीको मन मात्रै जितेका छैनन् यो खेलबाट अन्तर्राष्ट्रिय मैदानमा जानेहरुको हौसला बढाएका छन् ।

स्केट खेलका संस्थापक अध्यक्ष ७३ वर्षीय स्ट्रिट डिमेनले नेपालमा स्केट खेल भित्राउन र व्यवसायिक बनाउन जागृत पहाडीको मेहनतलाई नै देखेर आफू नेपाल आएको बताएपछि र आफ्नो सबै टिममा उनको सफलताको बयान सुनाएपछि अहिले जागृतका बुवा विनोद पनि फुरुंग छन् ।

छोरी डाक्टर भएकाले छोराले पनि त्यस्तै गरोस् भन्ने चाहना थियो, पहिले उसको चाहना बुझ्न नसकेर गाली गरियो, अहिले यस खेलका पारखीहरुको खुसी देखेर आनन्द लागेको छ, संविधान सभाका सदस्य बनिसकेका विनोद पहाडी भन्छन्, ‘अब यसको स्थायित्वका लागि म पनि लागेको छु, खेलबाट देशको पहिचान गर्न सकिनेगरी छोरालाई सहयोग गर्न थालिसकेको छु ।’

जागृतले यो खेललाई स्थायितत्व दिन रुपन्देहीको तिलोत्तमास्थित डिंगनगरमा स्केट पार्क बनाएका छन् जहाँ विश्वभरका यस खेलका पारखीले सहयोग गरेर निर्माण कार्य अगाडि बढेको छ । अहिले विभिन्न देशका खेलाडीहरु यहाँ आएर स्वयंसेवक तरिकाले काम गरेका छन् अनि खेलाडी उत्पादन र शशक्तिकरणमा सहयोग गरिरहेका छन् ।

अहिले यसका संस्थापक अध्यक्ष टिटस डिटमेन यसकै लागि ७३ वर्षको उमेरमा पहिलोपटक नेपाल आएर बसेका छन् । उनीसँगै उनको सिंगो टिम आएको छ । यसरी आउने खेलाडीहरु सबै आफ्नो खर्चमा आउने र यहाँ यस खेलको लागि लगानी गर्ने भएका कारण पनि यसले यो खेल पारखीलाई मात्र नभएर अरु क्षेत्रमा पनि ऊर्जा थपेको छ ।

तिलोत्तमा नगरपालिका- ४ को तिलोत्तमा नदी उकास क्षेत्रमा पछिल्लो ३ महिनादेखि स्वदेशी तथा विदेशी युवाहरुको जमघट हुने गरेको छ । रुपन्देही, काठमाण्डौ, चितवनका स्वदेशीमात्र संगै जापान, स्पेनका युवाहरु श्रमदानमा लागेका छन् । मरुभूमीजस्तो ठाउँमा उनीहरु सिमेन्ट, बालुवा, गिटी, फलाम बोक्दै विभिन्न आकृतिका पूर्वाधार बनाइरहेका छन् । छेउमा एउटा सानो टहरा पनि छ । श्रम गरेर थाकेपछि केहीबेर सबैजना विश्राम गर्छन् ।

विश्वभरका युवालाई जोड्ने काम गरेका हुन् बुटवलका जागृत पहाडीले । पहाडी स्केट एड नेपाल फाउन्डेसनका अध्यक्ष हुन् । सन् २०१३ देखि स्केट खेलमा आर्कषित भएका पहाडी यो खेलमार्फत विश्वलाई जोड्ने अभियानमा लागेका छन् । देशमा युवा पुस्तालाई खेलमा लाग्न उनले रुपन्देहीमा आधार तयार गर्दैछन् । स्केटिङ खेल र युवा खेलाडीको उत्पादनको लक्ष्यसहित रुपन्देहीमा स्ट्रीट स्केट पार्क निर्माण भइसकेको छ ।

देशभित्र र बाहिरका खेल अभियन्ताहरुको सहयोगमा स्केटिङ मैदान निर्माण भएको हो । तिलोत्तमामा बन्दै गरेको पार्क दक्षिण एशियाकै समुदायस्तरबाट बन्दै गरेको पहिलो पार्क भएको उनको दाबी छ । करिब साढे २ करोड रुपैयाँको गुरुयोजना तयार गरेर सन २०२३ सम्म सक्ने योजना रहेको उनले बताए । एक वर्ष अघिदेखि जग्गा प्राप्तिको पहलमा केही समय ढिला भएको भन्दै श्रोत जुटाउदै काम अघि बढेको उनले जानकारी दिए ।

यो पार्कका लागि स्थानीय सरकार तथा बनले जग्गा दिएर ठूलो गुन लगाएको जागृतको भनाइ छ । यहाँ यस खेललाई निःशुल्क सिकाइन्छ । तर स्थायित्का लागि बसेर सिक्ने खेलाडीलाई कसरी व्यवस्थापन गर्ने, प्रशिक्षकलाई कसरी पाल्ने र अनि प्रशासनिक खर्च कसरी जुटाउने भनेर सबै अन्तर्राष्ट्रिय टोलीसँग छलफल गरिरहेको उनले बताए ।

‘पार्कको पहिलो चरणको काम सकिएको छ,’ उनले भने,‘फ्रान्स, जर्मन, स्पेन, जापान, भारतका खेलाडी तथा संघसंस्थाहरुको आर्थिकका साथै भोलिन्टियर रुपमा सहयोग भएको छ ।’ पार्क निर्माणमा ४० लाख रुपैया खर्च भएको छ । पहाडीका अनुसार करीब ३ महिनाको अवधिमा अहिलेको पहिलो चरणको पूर्वाधार तयार भएको छ ।

इन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर नामाकरण गरेर १० कठ्ठा क्षेत्रफलमा ३ चरणमा सक्ने गरी योजना डिजाईन भएको पहाडीले बताए । जहाँ ३ वटा प्रशिक्षण स्थल, पुस्तकालय, खेलाडी÷प्रशिक्षकलाई आवासिय पूर्वाधार निर्माण गरिने उनले बताए । खेलाडीमात्र नभई दक्ष प्रशिक्षकहरु उत्पादन गर्ने थलोको रुपमा यसलाई तैयार गर्ने जागृतले बनाएका छन् ।

फ्लाट, अव स्टेकल, बाउल (कचौरा) टाईपको ग्राउण्ड निमार्ण भैसकेको छ, जहाँ खेलाडीहरु मोभमेन्टहरु सिक्ने, ट्रान्जिकसन सिक्ने काम हुन्छ । पहाडीसहितको टोलीले स्केटसंगै साईक्लिङ, बास्केटबल, भलिबललगायतका खेलकुद खेल्ने स्थानका रुपमा विकास गर्ने लक्ष्य राखेका छन् । सो पार्क निर्माणमा अन्तराष्ट्रिय ६० जना बढी भोलिन्टयरहरुको पनि सहयोग भौतिक सहयोग भएको भएको उनले बताए ।

नेपालले दक्षिण एशियाली प्रतियोगितामा प्रतिनिधित्व गरिसकेको स्मरण गर्दै उनले युवा खेलाडीहरुलाई प्रशिक्षण स्थलको अभावलाई मध्यनजर गरि अभियानको रुपमा सुरु गरिएको बताए । दक्षिण एशियाली राष्ट्रमा स्केट खेलमा नेपाल पहिलो नम्बरमा रहेको पहाडीको दाबी छ । ‘पुर्वाधार र राम्रो प्रशिक्षण दिनसके नेपाली खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगिता जाने बाटो खुल्नेछ,’ उनले भने,‘नया युवा पुस्ता जो स्केट सिक्न चाहन्छन उनीहरुका लागि धेरै लाभदायक हुनेछ ।’

स्ट्रीट स्केट पार्क निमार्णमा प्राविधिक र आर्थिक सहयोग गर्दै आएका स्पेनका खेलाडी तथा प्राविधिक ईन्जिनियर ग्याबरियल सोमासन्तोषले खेलमार्फत युवाहरुलाई जोड्ने माध्यमका रुपमा पार्क भएको बताए । अन्तर्राष्ट्रिय स्केट विकासमा लागेको स्केट एडमार्फत विश्वभर नै खेल विकासमा लगानी भैरहेको उनले बताए । ‘स्केटले कति खुशी दिन्छ भन्ने कुरा केवल खेल्नेले मात्र अनुभव लिने सक्छ ।’उनले भने ।

बच्चाहरु पटकपटक लड्दै सिक्दै जाने प्रक्रिया भएको भन्दै सिकेपछि जुन ट्रिक देखाउन पाउदा उनिहरुमा उत्साह जाग्ने उनले बताए ।
यो खेलमा सेफ्टि गियर अनिवार्य रहने उनले बताए । शुरुवातमा सिक्दा चोटपटक लाग्नसक्ने भएकाले पनि सुरक्षा सावधानी अप्नाउनु जरुरी रहेको उनले बताए । व्यावसायिक स्केट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नेपालमा यो अभियान शुरु भएको हो । उनले भने । नेपालमा काठमाडौ, धरान, पोखरा, बुटवलमा दर्जनौ खेलाडीले सडक तथा चौरमा युट्ब हेरेर सिक्ने गरेका थिए ।

स्केटमा भविश्य देख्नेहरु के भन्छन् ?

तिलोत्तमा नगरका सिमानगरमा बस्ने पवन कामुमगर (पप्पु) १४ वर्ष भए । जनजागृति मावि ६ कक्षा पढ्ने उनि पछिल्लो एक वर्षदेखि स्केट सिक्दैछन । छोटोसमयमा नै उनि स्केटका विभिन्न कलाहरु देखाउन माहिर छन । उनि १८०, ३६०, वालि, ड्रप लगायतका कला सिक्दैछन् । स्केटलाई एउटा खुट्टासँगै उठाउदै तलमाथि गर्ने कला नै वालि हो । भविष्यमा स्केट खेलबाट नै नेपालबाट प्रतिनिधित्व गरेर ओलम्पिक पुग्ने उनको सपना छ ।

६ वर्षदेखि स्केट खेलमा लागेका काभ्रेपलान्चोकको विजय तामाङले पनि स्केटमा नै भविष्य देखेका छन । उनि अहिले काठमाडौं सहित विदेशमा भएका स्केट खेलमा भाग लिदै आएका छन । शुरुवाती चरणका खेलाडीहरुका लागि स्केट बोर्ड भए पुग्ने उनले बताए । जसको मूल्य न्युनतम ४ हजार रुपैयामा पर्छ । ‘यसबाहेक सेफ्टि गियरहरु समेत आवश्यक पर्छ ।’ उनले भने ।

यता काठमाडौंका समीक्षा राई (एके लोरिन) पनि स्केटमै भविष्य देखेका छन । उनि ४ वर्षदेखि स्केट खेलमा आवद्ध छन् । स्केट खेल्ने र सिकाउने अभियानमा नेपालबाट नयाँ पुस्ता सिकाउने र प्रचारमा लागेकी उनी अहिलेसम्म ईन्डिया, जर्मन, पर्चुगल, स्पेन, फ्रान्स पुगेकी छन् । उनी छिमेकी राष्ट्र भारतमा भएको प्रतियोगितामा जित समेत हासिल गरेकी बताउँछिन् ।

विश्वभरका देशहरुमा स्केट एड संजाल र नेपालमा स्केट एड नेपालले खेलको विकासमा भौतिक र प्राविधिक सहयोग गर्दै आएको छ । नेपाल स्केटिङ एण्ड स्केट बोर्ड एशोसिसयनमार्फत स्केट जात्रा लगायतका धेरै प्रतियोगिताहरु गर्दै आएको छ । यही संस्थाको अगुवाईमा नेपालबाट २०१६ मा थाइल्याण्डमा मिनाकल जुरीले मेन्स च्याम्पयिन, २०२१ मा भारतमा महिला च्याम्पियन समीक्षा राई लोरिन तथा गर्जेन्द्र बर्देवाले उपाधि जितिसकेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *