कांग्रेसप्रति लक्षित गर्दै माओवादीले भन्यो- कुनै घटकले एमसीसी अघि बढाए गठबन्धन तोडियो भन्ने हुन्छ – Nepal Press

कांग्रेसप्रति लक्षित गर्दै माओवादीले भन्यो- कुनै घटकले एमसीसी अघि बढाए गठबन्धन तोडियो भन्ने हुन्छ

काठमाडौं । बहुचर्चित तथा विवादित बनेको अमेरिकी सहायता परियोजना (एमसीसी) पेस गर्ने विषयमा सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रले आज आधिकारिक धारणा बनाएको छ ।

माओवादी संसदीय दलको भर्खरै सकिएको बैठकले एमसीसी सम्झौतामा रहेका असमान र राष्ट्रिय हितविपरीतका स्वार्थ परिमार्जन नगरी यथास्थितिमा अगाडि बढाउन र पारित गर्न नसकिने प्रष्ट्याएको छ ।

प्रमुख सचेतक देव गुरुङले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘जबरजस्ती लिएर आए माओवादीले त्यसको विपक्षमा मतदान गर्छ ।’

एमसीसीको मुद्दामा सर्वदलीय छलफल गरी राष्ट्रिय सहमति कायम गरेर मात्र अघि बढ्नुपर्ने माओवादीको भनाइ छ । कम्तीमा सरकारमा रहेका दलहरूबीच सहमति हुनुपर्ने बैठकले निर्णय गरेको छ ।

सरकारमा रहेका पाँचवटै दलबीच सहमति नभइ एमसीसी अगाडि बढाइए आफूहरू सरकारबाट बाहिरिने माओवादीको भनाइ छ ।

‘पाँच दलको निर्णयबिना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयबिना सरकार वा कुनै घटकले अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट स्वत: अलग हुने कुरा हो ।’

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीलाई आफूहरूले नाफाघाटाको रूपमा नहेर्ने बैठकमा प्रष्ट्याएका थिए ।

त्यस्तै सदन सुचारु नभइ कुनै एजेण्डा अघि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई सदन अवरोध नगर्न आग्रह गर्ने पनि निर्णय भएको गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर