ओलीको प्रतिक्रिया- महाअभियोग चुनाव भाँड्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउने षड्यन्त्र – Nepal Press

ओलीको प्रतिक्रिया- महाअभियोग चुनाव भाँड्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउने षड्यन्त्र

'महाअभियोगको सिलसिला बिजारोपण गर्नु अनुचित,अनुत्तरदायी र हानिकारक कदम हो, लोकतन्त्रविरुद्धको गम्भीर षड्यन्त्र’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको भन्दै सत्ता गठबन्धनको यो कदमको निन्दा गरेका छन् ।

संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल प्रेससँग विशेष कुराकानी गर्दै अध्यक्ष ओलीले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको बताए ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन हुँडल्ने र रोक्ने षड्यन्त्रको एउटा हुनसक्ने आशंकासमेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘सत्तापक्ष र प्रतिपक्षकाबीचको सम्बन्धको तनाव शीथिल हुँदै गरेका बेला फेरि तनावग्रस्त बनाउने र वातावरण विथोल्ने षड्यन्त्रबाट यो महाअभियोग ल्याइएको छ । यो लोकतन्त्रविरुद्धको धरै गम्भीर कदम हो । अर्को भाषामा भन्ने हो भने गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।’

अध्यक्ष ओलीले एमाले यस्ता षड्यन्त्रको विपक्षमा रहेको समेत प्रष्ट पारेका छन् ।

एमाले अध्यक्ष ओलीले मुख्य चार विषय उठाएका छन् । जसलाई बुँदागतरूपमा उनले प्रष्ट पार्न खोजका छन् ।

१. अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ । सत्ता पक्षले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम गरेको छ । यो कार्य वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ ।

२. पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षका बीचको सम्बन्धमा रहेको तनाव शिथिल हुँदै गरेको थियो । फेरि तनाव बढाउने र तनावग्रस्त बनाएर वातावरण बिथोल्ने षड्यन्त्र यसमा देखिन्छ । यो लोकतन्त्रका विरुद्ध धेरै गम्भीर षड्यन्त्र हो । अर्को भाषामा भन्दा यो गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।

३. सर्वोच्च अदालतलगायत राज्यका अंगहरूलाई आफ्नो स्वतन्त्र संवैधानिक भूमिकामा क्रियाशील हुन नदिने र चर्को दबाब तथा नियन्त्रणमा राख्न खोज्ने सत्ताधारीहरूको प्रयास हो यो कदम ।

४. परमादेश जारी गरेर असंवैधानिकरूपमा एमालेलाई सत्ताबाहिर पुर्‍याउँदा पनि अदालतप्रति यिनीहरू सन्तुष्ट हुन नसक्नु झनै गम्भीर कुरा हो । सर्वोच्च अदालत सिपाही हो र हामी सत्ताधारी आईजीपी हौं । हामीले भनेको सिपाहीले आदेश मान्नुपर्छ भन्ने मान्यता यसमा प्रकट भएको छ । यो धेरै गम्भीर कुरा हो । अब एमालेले के गर्छ मैले यति भनेपछि अरु थप भन्नु परेन ।


प्रतिक्रिया

2 thoughts on “ओलीको प्रतिक्रिया- महाअभियोग चुनाव भाँड्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउने षड्यन्त्र

  1. मोलतोल (बार्गेनिङ्ग) गरेर मन्त्रिहरु नियुक्तिमा केपी ओली र देउबासंग जसले आफ्नो भागबन्डा खोजेर कहीं नभयको जात्रा गरेर परमादेश द्वारा जनादेशको सरकार गिरायर २८ घण्टा भित्र देउबालाइ शपथ गराउन अबैध परमादेश जारि गर्ने अन्यायाधिश चोलेन्द्र शमशेर जबरा माथि महाभियोग लगाउनु पर्यो भनेर एमालेकै महेश बस्नेतहरुले २/३ दिन सम्म बिरोध प्रदर्शन चर्कायकै हुन्!

    त्यसैले एमाले पार्टी र त्यसका अध्यक्ष्य केपी ओलीले बिना आग्रह पूर्वाग्रह अहिले पेश भयको उनीमाथिको महाभियोग प्रस्ताबको समर्थन गरेर संसदबाट चुच्चे नक्सा अनुमोदन गर्न संसदमा अभूतपूर्व रास्ट्रिय एकता प्रदर्शित गरे जस्तै अहिले पनि एमसीसीका कारण रास्ट्रीय स्वाधिनता नै गुम्ने भयो भनि चिन्तित नेपाली जनतालाइ न्यायको मन्दिरमा नै न्याय प्रतिस्थापन गरेर फेरी अर्को चोटी अभूतपूर्व रास्ट्रिय एकता प्रदर्शित गर्ने छन् भन्ने अरु न्यायाधिश, कानुन ब्यबसायी, जनप्रतिनिधिहरुको मात्र होइन, सारा नेपाली जनताको माग छ:

    अब एमाले पार्टी प्रतिगमन होइन, अग्रगमन तिर लागेर र महाकाली र एमसीसीमा गरेको राष्ट्रघातको प्रायश्चित गरेर मात्र एक नम्बरको पार्टी बन्न सक्नेछ! सबैलाई चेतना भया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर