दिल्लीका विद्यालय सोमबारदेखि खुल्ने : खोप नलगाएका विद्यार्थीले कक्षामा प्रवेश नपाउने – Nepal Press

दिल्लीका विद्यालय सोमबारदेखि खुल्ने : खोप नलगाएका विद्यार्थीले कक्षामा प्रवेश नपाउने

नयाँदिल्ली । भारतीय राजधानी दिल्लीमा सोमबारदेखि स्कुल कलेज खुल्ने भएका छन् । प्रकोप व्यवस्थापन विभागको आज बसेको बैठकमा विद्यालय, कलेज र शैक्षिक संस्था खुल्ने निर्णय भएको हो । साथै, आगामी हप्तादेखि जिम, स्विमिंग पूल र स्पाहरूलाई फेरि खोल्न अनुमति दिइएको छ ।

कोरोनाभाइरसको तेस्रो लहरको जोखिम रोक्न लगाइएको रात्रीकालिन कर्फ्युको अवधि भने एक घण्टाले घटाउँदै अहिले बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म कायम गरिएको छ । विद्यालयलाई चरणवद्धरुपमा खोल्न अनुमति दिइएको छ । कक्षा ९ देखि १२ फेब्रुअरी ७ देखि सञ्चालन गर्न सकिने भएको छ भने फेब्रुअरी १४ देखि नर्सरीदेखि ८ सम्मका कक्षाहरू सञ्चालन हुनेछन् ।

दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले खोप नलगाएका विद्यार्थीले कक्षा लिन नपाउने बताएका छन्। साथै कार्यालयहरूले १०० प्रतिशत उपस्थितिको साथ काम गर्न पाउँनेछन् भने एक्लै कार चलाउने व्यक्तिहरूले भने मास्क लगाउन आवश्यक नरहेको निर्णय गरिएको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमित हुनेहरुको संख्यामा कमि आए पछि राजधानीका प्रतिबन्धहरू कम गर्ने र स्कूल र कलेजहरूलाई पुनः खोल्न अनुमति दिने निर्णय गरेको हो । यसका साथै लेफ्टिनेन्ट गभर्नर अनिल बैजलको अध्यक्षतामा बसेको बैठकमा १५ देखि १८ वर्ष उमेर समूहका लागि खोप बढाउनुपर्नेमा जोड दिइएको छ ।

भारतमा २१ जनवरी र फेब्रुअरी ३ बीचको दुई हप्तामा दैनिक संक्रमित हुनेहरुको संख्या ५० प्रतिशतले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर