आज विश्व क्यान्सर दिवस : नेपालमा ३२ हजार क्यान्सरका बिरामी, रोकथामका लागि के गर्ने ? – Nepal Press

आज विश्व क्यान्सर दिवस : नेपालमा ३२ हजार क्यान्सरका बिरामी, रोकथामका लागि के गर्ने ?

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्यान्सर दिवस मनाइँदैछ । यसवर्षको दिवसको मुख्य नारा ‘क्लोज द केयर ग्याप’ छ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बढ्दैछ चुनौती क्यान्सरको पहुँच बढाऔं स्याहारको’ नारासहित यो दिवस मनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा मात्र लगभग २ करोड मानिसमा क्यान्सर देखिएको छ भने क्यान्सरकै कारण १ करोडको मृत्यु भएको छ।

मन्त्रालयले क्यान्सर बारेका गलत बुझाइलाई हटाइ सचेतना र शिक्षा बढाउन आग्रह गरेको छ । साथै विश्वभर यस रोगको रोकथाम र उपचारमा पहुँच बढाउन सम्बन्धित निकायहरुमा प्रोत्साहन गर्न पनि अनुरोध गरेको छ।

‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं ’ भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइँदै छ भने नेपालमा पनि क्यानसर अस्पतालले विभिन्न सचेतनात्मक कार्यक्रम गरी यो दिवस मनाउदै छन् ।

नेपालमा पछिल्ला वर्षहरुमा क्यान्सरको विषयमा सचेतना बढ्दै गएको छ । पहिला क्यान्सर रोग लागेपनि पहिचान र उपचारको सुविधा निकै कम थियो । जसका कारण धेरैको रोग पहिचन नै नभइ मृत्यु हुने अवस्था थियो। तर अहिले क्यान्सर पहिचान र उपचारमा पहुँच बढ्दै गएको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पिया बताउँछन् ।

सरकारले क्यान्सरको लागि औषधि उपचारमा सुविधा समेत दिएको छ । त्यसकारण पनि हुम्ला, जुम्ला लगायत विकट क्षेत्रबाट पनि उपचारका लागि आउने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् तर गाउँतिर कति बिरामी रोग नै पहिचान नभएर बसेका हुन्छन् ।

क्यान्सर भनेको के हो ?

शरीरको कोष वा कोषिकाहरुको समूहको अस्वभाविक वृद्धि नै क्यान्सर रोग हो । जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ।

ट्युमरका किसिमहरु के हुन् ?

-घातक प्रवृत्तिः यो घातक प्रवृत्तिको ट्युमर हो । यसको उग्र अस्वभाविक वृद्धिका कारण यस ट्युमरलाई क्यान्सर भनिएको हो । यो ट्युमर शरीरको अन्य भागमा पनि फैलिएर जान्छ ।

-नम्र प्रवृत्तिः नम्र प्रवृत्तिको यो ट्युमरले कुनै पनि हानी गर्दैन र शरीरका अन्य भागमा पनि फैलिँदैन।

क्यान्सरका कारक तत्वहरु के हुन् ?

–अत्यधिक मद्यपान र धुम्रपान
–अस्वस्थ आहार
–वंशाणुगत कारण
-विकिरणको प्रभाव
–जीवाणुका कारण
–वातावरणीय प्रदुषण

क्यान्सरबाट बच्ने उपाय

अहिले विश्वमा बिभिन्न खालका क्यान्सर रोगहरु देखिएका छन् । जुनसुकै प्रकारका क्यान्सर रोग देखिए पनि यसबाट बच्न निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।

-मद्यपान तथा धुम्रपान नगर्ने
-शाकाहारी र सन्तुलित भोजन गर्ने
-चर्को नुनको प्रयोग नगर्ने
-धुँवामा सेकिएको मासु कम खाने
-चिल्लो पदार्थ, ढुसी परेको, बासी खानेकुराहरुको प्रयोग कम गर्ने
-नियमित व्यायाम गर्ने
-सरसफाइमा विशेष ध्यान दिने
-नियमित स्वास्थ्य परीक्षण गर्ने

क्यान्सर नियन्त्रणका उपाय

-सम्भावित लक्षणहरु देखापर्नासाथ चिकित्सकसँग सम्पर्क राख्ने
-वर्षेनी नियमित रुपमा शरीरको पूर्ण परीक्षण गर्ने
-रोग पुष्टि भएमा चिकित्सकको सल्लाह बमोजिमको उपचारमा संलग्न हुने
-उपचार विधि र यसको महत्वबारे जनचेतना फैलाउने र रोग नियन्त्रणमा सहयोग गर्ने

क्यान्सर रोग कस्तो रोग हो ?

क्यान्सर भन्ने वित्तिकै आत्तिहाल्नु पर्देन । नेपालमा क्यान्सर पहिचान गर्न गाह्रो थियो तर सुरुवातमा नै पहिचान गर्दा क्यान्सर निको हुन्छ । महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर सुरुमा नै पहिचान गर्न सकियो भने निको हुन्छ । अन्य क्यान्सर पनि सुरुको स्टेजमै पत्ता लागेर उपचार गर्दा निको हुने सम्भावना ९५ प्रतिशतसम्म हुन्छ । यस्तै अन्तिम अवस्थाको क्यान्सर छ भने ४–५ वर्षको हिसाबमा १२–१३ प्रतिशत निको हुने सम्भावना हुन्छ ।

विश्व स्वास्थ्य संगठनले क्यान्सरको क्षण मुख्य ७ वटा लक्षण निकालेको छ। यदी त्यो लक्षण छ भने आफूलाई क्यान्सर भएको आशंका गरी डाक्टरकोमा जान भनेको छ। निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शंका गर्न सकिन्छ।

नेपालमा फोक्सोको क्यान्सर भएका बिरामी धेरै छन् । पुरुषहरुमा बढी हुने क्यान्सरमा फोक्सो, पेट, प्रोस्टेट, हड्डी र रगतको क्यान्सर देखिन्छ भने महिलाहरुमा पहिला पाठेघरको क्यान्सर बढी हुन्थ्यो, अहिले स्तन क्यान्सर बढी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर