बेइजिङ विन्टर ओलम्पिकमा आजदेखि टर्च रिले सुरु : ग्रेटवालसम्म टर्चलाई भ्रमण गराइने (तस्बिरहरु) – Nepal Press

बेइजिङ विन्टर ओलम्पिकमा आजदेखि टर्च रिले सुरु : ग्रेटवालसम्म टर्चलाई भ्रमण गराइने (तस्बिरहरु)

बेइजिङ । चीनले बेइजिङ विन्टर ओलम्पिक २०२२ को टर्च रिले सुरु गरेको छ । चिनियाँ बास्केटबल च्याम्पियन र ओलम्पियन याओ मिङले टर्च रिले बोकेर दौड सुरुआत गरे । कोभिड–१९ संक्रमण फैलिन नदिन बेइजिङले जारी गरेका प्रतिबन्धको कारण टर्च रिले तीन दिनसम्म मात्र चल्नेछ ।

उक्त ओलम्पिक टर्च विश्व सम्पदा द ग्रेटवालमा समेत लगिने भएको छ । कोभिड प्रोटोकलको कारण सीमित संख्यामा मानिसहरुलाई मात्र टर्च रिले हेर्न अनुमति दिइने भएको छ । फेब्रुअरी ४ देखि २० सम्म चल्ने बेइजिङ विन्टर ओलम्पिक बन्द रंगशालाहरुमा मात्र खेलाइने भएको छ । ती खेल थलोमा खेलाडी र डेलिगेट्सबाहेक बाहिरी मानिसहरुलाई प्रवेश अनुमति दिइएको छैन ।

‘यो पक्कै पनि दुर्भाग्य हो तर तपाईं के गर्न सक्नुहुन्छ ?, चीनका लागि ग्रीसका राजदूत र टर्च बोक्नेहरू मध्येका एक जर्जियोस इलियोपोलोसले २०२२ को खेलहरूलाई कोरोना महामारीबाट प्रभावित भनेर सम्झिइने छ कि भनेर सोधिएको प्रश्नमा उनले भने ।

‘तपाईंले जीवनलाई रोक्न सक्नुहुन्न र हामी जे गर्न सक्छौं त्यसलाई जारी राख्न हामी सक्दो गर्छौं। मुख्य कुरा यो हो कि हामी यसमा सँगै रहन्छौं र यसलाई सकेसम्म चाँडो हामीलाई पछाडि छोड्छौं,’ उनले पत्रकारहरूलाई भने।

 

गत अक्टोबरमा ग्रीसबाट ल्याइएको उक्त ओलम्पिक टर्चले शुक्रबारको उद्घाटन समारोहमा ओलम्पिक बत्तीलाई प्रज्वलन गरेर आफ्नो यात्रा समाप्त गर्नु अघि हुबेई प्रान्तको झाङ्जियाकोउ लगायतका क्षेत्रमा समेत प्रदर्शनको लागि लगिनेछ ।

बुधबारको कार्यक्रम बेइजिङमा सफा नीलो आकाशमुनि सुरु भएको थियो । उपप्रधानमन्त्री हान झेङले परम्परागत अनुष्ठानको भाँडोको आकारमा एउटा टर्चबाट टर्च बालेर ८० वर्षीय लुओ झिहुआनलाई टर्च हस्तान्तरण गरे । रिलेमा १ हजारभन्दा बढी टर्चवाहक सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर