युक्रेन संकटमाथि राष्ट्रसंघीय सुरक्षा परिषद बैठक : रुसी र अमेरिकी कूटनीतिज्ञबीच आक्रोशपूर्ण भनाभन – Nepal Press

युक्रेन संकटमाथि राष्ट्रसंघीय सुरक्षा परिषद बैठक : रुसी र अमेरिकी कूटनीतिज्ञबीच आक्रोशपूर्ण भनाभन

न्यूयोर्क । युक्रेन संकटबारे छलफल गर्न बोलाइएको राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको छ । बीबीसीका अनुसार राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकपछि युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्।

उनका रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाएका थिए । रुसले युक्रेनमा आक्रमण गरे अमेरिका र बेलायतले थप प्रतिबन्ध लगाउने जनाएका छन् ।

बेलायती विदेशमन्त्री लिज ट्रसले क्रेमलिन नजिकका व्यक्ति र व्यवसायको अहिलेको भन्दा व्यापक दायरालाई समेट्ने गरी कानून तयार भइसकेको बताएकी छिन् । एकजना अमेरिकी अधिकारीले वासिङ्टनले क्रेमलिन निकट व्यक्तिलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने खाले प्रतिबन्ध लगाउन सक्ने बताए ।

रुसले युक्रेनी सीमा नजिकै करिब एक लाख सेना, ट्याङ्क र क्षेप्यास्त्रहरू राखेको छ। सोमवारको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा राष्ट्रसङ्घका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले रुसले युक्रेनविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाइरहेको छ भन्ने कुनै प्रमाण नभएको बताए।

उनले त्यसका लागि सेना खटाइएको भन्ने कुराको संयुक्त राष्ट्रसङ्घद्वारा पुष्टि पनि नगरिएकोमा जोड दिए। रुसले आफ्नै क्षेत्रमा सेनाको तैनाथी गर्ने गरेको भन्दै त्यो वाशिङ्टनको सरोकारको विषय नै नभएको उनको भनाइ छ।

रुसले उक्त संयुक्त राष्ट्रसङ्घीय निकायको खुला बैठक सत्रलाई अवरुद्ध गर्ने प्रयास गरेको थियो। तर उसको प्रयास असफल भएको थियो । नेबेन्ज्याले बाइडेन प्रशासनले ‘तनाव र बयानबाजी गर्दै उक्साएको’ बताए।

उनले भने, यो हाम्रो देशको आन्तरिक मामिलामा अस्वीकार्य हस्तक्षेप मात्र होइन, यस क्षेत्रको वास्तविक अवस्था र वर्तमान विश्वव्यापी तनावका कारणबारे अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गर्ने प्रयास पनि हो।’

उनकी अमेरिकी समकक्षी थोमस ग्रीनफिल्डले अमेरिकाले कूटनीतिक समाधानमा विश्वास जारी राखेको बताइन्। तर यदि रूसले युक्रेनमा आक्रमण गरेमा अमेरिकाले निर्णायक कदम चाल्ने र त्यसको नतिजा ‘भयानक’ हुने चेतावनी दिइन्।

मस्कोले युक्रेनको उत्तरी सिमानामा रहेको छिमेकी बेलारुसमा तैनाथ आफ्नो फौजलाई ३० हजार पुर्‍याउने योजना बनाएको उनले दाबी गरिन्। यसैबीच कूटनीतिक प्रयास पनि जारी छ। रुसी राष्ट्रपति पुटिनले सोमवार फ्रान्सेली राष्ट्रपतिसँग फोनमा संवाद गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभसँग मङ्गलवार वार्ता गर्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर