एमसीसीबारे एमाले भन्छ- हामी पास वा फेल गर्ने भूमिकामा छैनौं, पहिले सत्ता गठबन्धन प्रष्ट होस् – Nepal Press

एमसीसीबारे एमाले भन्छ- हामी पास वा फेल गर्ने भूमिकामा छैनौं, पहिले सत्ता गठबन्धन प्रष्ट होस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अमेरिकी सहायता परियोजना एमसीसीबारे पुरानै धारणा दोहोर्‍याएको छ । सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सन्दर्भमा बहस भइरहेका बेला एमालेसँग समेत सहमति गर्ने कुरा उठेको छ ।

पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउनुपर्ने प्रस्ताव गठबन्धन बैठकमा राखेपछि यो विषय फेरि चर्चामा आएको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई अहिले एमसीसी पास गर्ने वा नगर्ने भूमिकामा एमाले नरहेकोले यसबारे तत्काल निर्णय नगरेको बताए ।

‘हामीले जे धारणा बनाए पनि, हामीले ‘नो’भने पनि, ‘एस’ भने पनि हामी त्यो भूमिकामा छैनौं,’ नेपाल प्रेससँग कुराकानी गर्दै भट्टराईले भने, ‘हाम्रा आफ्ना एजेन्डा संसदमा उठाइरहेका छौं । त्यसको सुनुवाइ भइरहेको छैन ।’

सत्ता गठबन्धनमै एमसीसीबारे परस्पर धारणा आइरहेकाले एमालेले धारणा बनाउन आवश्यक नठानेको भट्टराईको भनाइ छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पारित गरेर जानुपर्ने पक्षमा छ भने सता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना पारित गर्न नहुने पक्षमा छन् ।

भट्टराईले नेपाल प्रेससँग भने, ‘सत्तारुढ गठबन्धनका परस्परविरोधी भनाइ आइरहेका छन् । यस विषयमा अहिले हामीले यही हो भनेर भन्नुपर्ने जरुरी ठानेका छैनौं । जतिबेला हाम्रो ‘पोजिसन’ आवश्यक हुन्छ, त्यतिबेला जे निर्णय गर्नुपर्छ गर्छौं ।’

देशको सबैभन्दा ठूलो पार्टी एमसीसी जस्तो विषयमा विचार तय नगरेर बस्न मिल्छ भन्ने प्रश्नमा भट्टराई भन्छन्, ‘यो कुरा तपाईंलाई पो ठूलो लाग्यो । तर, राजनीतिक दलका लागि त्यही हो भन्ने कुरा हुँदैन। अहिले हाम्रो जिम्मेवारी र भूमिका त्यो भन्दा पृथक रहिरहेको अवस्थामा हामीले अर्काको भूमिका खोजेर आफ्नो धारणा बनाउने कुरा गर्नुहुँदैन ।’

एमालेमाथि एमसीसीलाई गठबन्धन टुटाउने अष्त्रकारूपमा प्रयोग गरिरहेको आरोप विपक्षीहरूले लगाइरहेका छन् ।

यसबारे भट्टराई भन्छन्, ‘कति कमजोर रहेछ त यो गठबन्धन । हामीले एउटा विषय उठाइदिँदा टुट्ने । भने पछि निर्णायक त हामी नै रहेछौं । यति कमजोर गठबन्धन राखेर किन बस्नु भएको छ उहाँहरु ? यो गठबन्धन कुन उदेश्य र कामका लागि हो भन्ने कुरा उहाँले प्रष्ट्याउनुपर्‍यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर