विदेशीलाई सजिलो हुनेगरी ट्राभल एड्भाइजरीमा हेरफेर : कूटनीतिज्ञ नेपाल आउन पाउने – Nepal Press

विदेशीलाई सजिलो हुनेगरी ट्राभल एड्भाइजरीमा हेरफेर : कूटनीतिज्ञ नेपाल आउन पाउने

हङकङसहित ९ अफ्रिकी मुलुकबाट नेपाल आउन लगाइएको रोक कायमै

काठमाडौँ । नेपालमा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएपछि जारी गरिएको ट्राभल एड्भाइजरीमा सरकारले हेरेफेर गरेको छ । ओमिक्रोन संक्रमण देखिएका मुलुकबाट नेपाल आउन नदिने यसअघिको व्यवस्थालाई सरकारले केही परिवर्तन गरेको छ ।

यसअघि दक्षिण अफ्रिका, बोत्सवाना, जिम्मावे, नामिविया, लेसोथो, इस्वानिटी, मोजाम्बिक, मलावी र हङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने तथा गएको तीन साता भित्र ती मुलकुको भ्रमण गरेका यात्रुलाई १६ मंसिर राती १२ बजे देखि नेपाल आउन रोक लगाइएको थियो ।

आइतबार अध्यागमन विभागले जारी गरेको ट्राभल एड्भाइजरीमा गत १६ मंसिरको व्यवस्थालाई कायम राखिएको भनिए पनि बीचमा केही व्यवस्थाहरु थपिएको जनाइएको छ । थपिएको व्यवस्थाले नेपालीसहित केही विदेशी नेपाल छिर्न सक्नेछन् ।

के छ नयाँ व्यवस्थामा ?

नयाँ व्यवस्था अनुसार मंसिर १६ गते निषेध गरिएका ९ मुलुकसहित जोखिम भएका अन्य मुलुकबाट आउने नेपाली नागरिक र कूटनीतिक वा अफिसियल राहदानीवाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई आगमन अनुमति प्रदान गर्ने तर त्यसमा केही सर्त राखिएको छ ।

नयाँ सर्त कस्ता छन् ?

पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टा भित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कुटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवसथामा घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने ।

खोपको पूर्णमात्रा पुरा नगरेका वा खोपको मात्रा पुरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुको नेपाल प्रवेश विन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसन पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ देखिएकाहरुलाई घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने ।

खोपको मात्रा पुरा नगरेका वा खोपको मात्रा पुरा गरेको १४ दिन नपुगेका कुटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुको नेपाल प्रवेश विन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाहरुलाई संस्थागत आईसोलेसन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलसनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटेल क्वारेन्टिन वा सम्वन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिने ।

हेर्नूहोस् नयाँ एड्भाइजरी :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर