‘ए’ डिभिजन लिगः एपीएफसँग बराबरीसँगै उपाधिहोडमा आर्मीलाई धक्का – Nepal Press

‘ए’ डिभिजन लिगः एपीएफसँग बराबरीसँगै उपाधिहोडमा आर्मीलाई धक्का

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले १-१ गोलको बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा शुक्रबार भएको सातौं चरणको पहिलो खेलमा अग्रता जोगाउन नसक्दा आर्मीको उपाधि होडमा धक्का लागेको छ । एपीएफले भने टोलीमा विदेशी खेलाडी भित्र्याएदेखि सुधारिएको प्रदर्शन गरेको छ ।

आर्मीका जर्ज प्रिन्स कार्कीले ६३औं मिनेटमो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले दिनेश हेन्जनको पासमा पेनाल्टी एरिया भित्र बल नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

त्यसको चार मिनेट नबित्दै एपीएफका बिकि तामाङले बराबरी गोल फर्काए । उनले आर्मीका गोलकिपर विकेशको गल्तीको फाइदा उठाएका थिए । नविन लामाले हानेको प्रहार विकेशले बचाएका थिए । तर, उनले बल नियन्त्रणमा लिन नसक्दा विकिले गोल गरे ।
यस्तै, निर्धारित समयसम्म पनि दुवै टोलीले सृजना गरेका गोल गर्ने अवसर स्कोरमा परिवर्तन नहुँदा खेल बराबरीमा सकिएको हो
नवौं मिनेटमा आर्मीका कप्तान भरत खवासले बक्स बाहिरबाट हानेको स्लो एयरबल एपिएफका गोलरक्षक याया कुरियामाले पञ्चआउट गरे ।

जगजित श्रेष्ठले २० औं मिनेटमा कर्नरमार्फत गरेको प्रहार जर्ज प्रिन्स कार्कीको पावर हेड दोस्रो बार नजिकबाट बाहिरियो ।
यस्तै, एपीएफले ३८ औं मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमायो । स्ट्राइकर आशिष लामाले आर्मीका गोलरक्षक विकेश कुथुसँग वान भर्सेस वानमा गोल गर्न असफल भए ।

बराबरीसँगै आर्मीको एएफसी कप खेल्ने सपनामा पुर्णविराम लागेको छ । सातौं चरणको समाप्तिमा तालिकाको शीर्ष स्थानमा रहेको एएफसी कप लाइसेन्स प्राप्त टोलीले एएफसी कपको छनोट चरणमा स्थान बनाउँनेछ ।

बराबरीसँगै आर्मी ७ खेलबाट ११ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट एपीएफ ६ अंकसहित ११औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *