देउवाले भाग लिने ‘गुजरात भाइब्रेन्ट समिट’ स्थगित गर्न भारतीय कांग्रेसको माग – Nepal Press

देउवाले भाग लिने ‘गुजरात भाइब्रेन्ट समिट’ स्थगित गर्न भारतीय कांग्रेसको माग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको भारत गुजरातमा हुने भाइब्रेन्ट गुजरात सम्मेलनलाई स्थगित गर्न कांग्रेस आइले माग गरेको छ ।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण ब्यापकरुपमा फैलिएको भन्दै कांग्रेसले उक्त सम्मेलन ‘सुपरस्प्रेडर इभेन्ट’ बन्न सक्ने जोखिम औंल्याएको छ ।

साथै, कांग्रेस आइले विदेशबाट आउने पाहुनालाई कम्तीमा एकसाता अनिवार्य क्वारेन्टिनमा राख्न समेत केन्द्रिय सरकारलाई आग्रह गरेको छ । गुजरातका पूर्व कांग्रेस प्रमुख सिद्धार्थ पटेलले कोरोनाको त्रासमा यस्तो सम्मेलन गर्नुको औचित्य नभएको बताए ।

कांग्रेसको १३७ औं स्थापना दिवस मनाउन आयोजित कार्यक्रममा पटेलले यसअघि गरिएका गुजरात भाइब्रेन्ट सम्मेलनमा पैसा मात्र खर्च भएको तर, फलदायी नभएको समेत आरोप लगाए । ‘राज्य सरकारको दायित्व भनेको महामारीबाट नागरिकको ज्यान जोगाउनु हो तर, उल्टै यस्तो कार्यक्रम गरेर तेस्रो लहर निम्त्याउने प्रयास गरिरहेको छ’ पटेलले भने ।

जनवरी १० देखि १२ सम्म सम्मेलन आयोजनाको तयारी भएको छ । तर, गुजरात सरकार निकट स्रोतका अनुसार सम्मेलन स्थगित गर्ने तयारी भने छैन ।

नेपालको परराष्ट्र मन्त्रालयले कोभिड–१९ को कारण सम्मेलन हुने वा नहुने निश्चित नभैसकेको जनाएको छ । तर, बालुवाटार निकट स्रोत चाहिँ देउवा सम्मेलनमा भाग लिन जाने तयारीमा रहेको बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर