प्रचण्डको सचिवालयले भन्यो- नेतृत्वको प्रतिस्पर्धामा निषेध गरिएको छैन, विवरण पुस ५ भित्र पठाउनू – Nepal Press

प्रचण्डको सचिवालयले भन्यो- नेतृत्वको प्रतिस्पर्धामा निषेध गरिएको छैन, विवरण पुस ५ भित्र पठाउनू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस ५ गतेभित्र प्रदेश कमिटीका पदाधिकारीको टुंगो लगाइ राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुको सूची केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिएका छन् ।

प्रचण्डको सचिवालयबाट स्वकीय सचिव रमेश मल्लले विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीको नेतृत्व चयनमा पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेकोसमेत प्रष्ट पारेका छन् । प्रदेश अध्यक्ष चयनमा प्रचण्डले हस्तक्षेप गरेको र आन्तरिक प्रतिस्पर्धा निषेध गरिएको टिप्पणी भएपछि सचिवालयले त्यसको प्रतिवाद गरेको हो ।

माओवादीको प्रदेश सम्मेलन एकैपटक प्रचण्डले उद्घाटन गरेर शुरु भए पनि कतिपय प्रदेशमा पदाधिकारी चयन हुन सकेका छैनन् । अध्यक्ष प्रचण्डले आन्तरिक प्रतिस्पर्धामा निषेध लगाएको भन्दै कतिपय नेताहरुले विरोध गरेका छन् ।

मल्लले शनिबार विज्ञप्ति जारी गर्दै सम्मेलनहरुबाट अधिकतम सहमतिको माध्यमबाट नेतृत्वको टिम निर्माण गर्ने र त्यसरी चयन भएको टिमले सकेसम्म पदाधिकारी सहमतिबाट चयन गर्ने विधि कायम गरिएको प्रष्ट पारेका छन् ।

मल्लले सहमति नभएमा बहुमतीय निर्वाचनको माध्यमबाट नेतृत्व निर्माणको बाटो खुला गरिएको भन्दै यस्ता कुरामा अध्यक्षलाई जोड्न आवश्यक नरहेको बताएका छन् ।

प्रचण्डको सचिवालयले भनेको छ– हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले ‘हस्तक्षेप’ गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन्। यो एकदम गलत कुरा हो। पार्टी बाहिर र भित्रका कमरेडहरु समेत यो कुरामा स्पष्ट हुन जरुरी छ कि कुनै पनि सम्मेलनहरु नेतृत्व निर्माणको क्रममा जनवादी केन्द्रीयताको अभ्यास गर्न स्वतन्त्र छ्न्। उनीहरुले निर्धारित नीति विधिभित्र रही आफ्नो अधिकारको प्रयोग गरुन्। र, छिटोभन्दा छिटो प्रदेश सम्मेलनको बाँकी काम पूरा गरी यही ५ गतेभित्र आवश्यक विवरणसहितको प्रतिनिधि सूची केन्द्रीय कार्यालयमा पेश गरुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर