शेखरले भने- कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दियौं – Nepal Press

शेखरले भने- कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दियौं

'गुट र भागबण्डाका नाममा अँध्यारो कोठामा हुने निर्णयविरुद्ध लड्यौं र जित्यौं'

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पराजित डा. शेखर कोइरालाले पार्टीमा यथास्थिति चाहनेहरूको अपवित्र गठजोडका बाबजुद आफूहरू लडेको र राजनीति जितेको बताएका छन् ।

आज विज्ञप्तिमार्फत नेता कोइरालाले शेरबहादुर देउवासँगको मात्र प्रतिस्पर्धा नभइ पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्ति र गलत संस्कारको विरुद्धको रुपान्तरण र परिवर्तनको लडाइँमा आफूहरूलाई सहज नभएको बताएका छन् ।

आफूहरूले कांग्रेस हुनुको गौरव र भावना बुझेको भन्दै शेखरले विज्ञप्तिमा भनेका छन्, ‘कांग्रेसको १४औं महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घर दैलोमा पुर्‍याएका छौं ।’

‘हामी लडिरहेका थियौं पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निर्णय विरुद्ध’, कोइरालाले भनेका छन्, ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग ऊर्जावान युवाहरूको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौं ।’

‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छ । प्रतिनिधि साथीहरूले म प्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु । मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । मलगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौं ।’

उनले नवनिर्वाचित सभापति देउवालाई बधाई तथा शुभकामनमा दिएका छन् । कांग्रेस परिवर्तनको पक्षमा उभिएका आफूहरू मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने भन्दै कोइरालाले पार्टी रुपान्तरणको एजेण्डामा निरन्तर क्रियाशील रहने बताएका छन् ।

सभापतिमा पराजित भएपनि पार्टी भित्र र बाहिरका आम लोकतन्त्रवादीहरु बीच कांग्रेसप्रति आकर्षण बढाएको, भरोसा र विश्वासको वृद्धि गराएको उनको दाबी छ ।

‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ’, शेखरले भनेका छन्, ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छ । प्रतिनिधि साथीहरूले म प्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु । मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । मलगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर