महंगो मूल्यमा बिक्री भयो फिल्म ‘प्रकाश’को डिजिटल अधिकार, भारतमा समेत रिलिजको तयारी – Nepal Press

महंगो मूल्यमा बिक्री भयो फिल्म ‘प्रकाश’को डिजिटल अधिकार, भारतमा समेत रिलिजको तयारी

काठमाडौं । दिनेश राउतको निर्देशन तथा प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल अधिकार विक्री भएको छ । महंगो मूल्यमा डीएआर मूभिजले राइट्स खरिद गरेको जनाइएको छ ।

निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डीएआर मुभिजका तर्फबाट संचालक श्याम धितालको उपस्थितिमा फिल्म खरिद सम्झौता भएको छ । अहिलेसम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए ।

फिल्मलाई हिन्दी भाषामा डब गरेर भारतमा प्रदर्शनको तयारी गरिएको जानकारी निर्माताले दिए । भारतका विभिन्न सहरमा समेत नेपाली भाषामै फिल्म प्रदर्शन हुने जनाइएको छ । नेपाल सीमावर्ती भारतीय राज्यहरुमा नेपाली भाषी समुदायको उल्लेख्य बसोबास छ । बजारको हिसाबले पनि यो समुदायलाई नेपाली फिल्मको लाभदायक थलो मानिन्छ ।

बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रदीपसहित रेणु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतको अभिनय छ ।

विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन र जीवन थापाको सम्पादन छ । फिल्ममा दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । गाउँले युवाले सरकारी जागिरको लागि गरेको संघर्ष फिल्मको कथावस्तु हो ।

फिल्मको प्रदर्शन मिति सार्वजनिक नगरिएपनि आगामी वैशाखमा रिलिज गर्ने तयारी रहेको निर्देशक राउतले नेपाल प्रेसलाई बताए । चाँडै फिल्मको पोस्टर तथा टीजर सार्वजनिक गरिने भएको छ । सोही प्रेसमिटमा फिल्मको प्रदर्शन मिति घोषणा हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर