सान्जेन र रसुवागढी आयोजनाको निर्माण छिट्टै सक्न विद्युत प्राधिकरणको ताकेता – Nepal Press

सान्जेन र रसुवागढी आयोजनाको निर्माण छिट्टै सक्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टै सम्पन्न गर्न ताकेता गरेको छ ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीकोसमेत लगानी रहेका आयोजनाहरु काम जतिसक्दो छिट्टै सम्पन्न गर्न पहल गरेको हो ।

भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड-१९को महामारी लगायतका कारणले आयोजनाहरुको निर्माण प्रभावित हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरु, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिट्टो सम्पन्न गर्न निर्देशन दिएका छन् । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले तीन वटै आयोजनाहरुको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाउनु भएको थियो ।

‘मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाहरुको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ’, घिसिङले भने,‘बाँकी रहेका कामहरु समानान्तर रुपमा अगाडि बढाएर ७÷८ महिनाभित्रमा सम्पन्न गर्नु पर्छ ।’

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।

माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरु मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरुले उपकरणहरु जडान सुरु गर्ने छन् । प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे छ ।

रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।

‘इलेक्ट्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरणहरु जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रुपमा काम गरी ८÷९ महिनाभित्र सक्नुहोस््, ठेकेदारले व्यहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्ने छौं ।’

तीन वटै आयोजनाहरुको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर