चिनियाँ मुखपत्रले भन्यो : बीआरआईलाई दबाउन खोजिए एमसीसी नेपालमा असफल हुनसक्छ – Nepal Press

चिनियाँ मुखपत्रले भन्यो : बीआरआईलाई दबाउन खोजिए एमसीसी नेपालमा असफल हुनसक्छ

काठमाडौं । अमेरिकी अनुदान सम्झौता (एमसीसी) घरेलु राजनीति मात्र होइन, छिमेकी मुलुकलाई समेत चासोको विषय बनेको छ । नेपालको वर्तमान कूटनीति र राजनीति पनि यसै वरपर फन्को मारेको छ ।

मंगलबार चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले ‘अमेरिकाले सहयोग परियोजनामार्फत नेपालको क्षेत्रीय अन्तरनिर्भरतालाई दबाउन नसक्ने’ शीर्षकसहित आलेख प्रकाशित गरेको छ ।

नेपाल भ्रमणमा आएका वरिष्ठ अमेरिकी अधिकारीहरुले एमसीसीलाई हिन्द-प्रशान्त क्षेत्रकै हिस्सा रहेको रुपमा स्पष्ट पारेको उल्लेख गर्दै उक्त आलेखमा एमसीसीको उद्देश्य चिनियाँ प्रभावलाई रोक्नु भएको बताइएको छ । यस कुरालाई लिएर नेपालमा तीव्र विवाद रहेको पनि ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

एमसीसी प्याक्ट चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई चुनौति दिने उद्देश्यले वासिङ्टनले ल्याएको समेत भनिएको छ । तर, उक्त सम्झौता नेपालको संसदबाट अनुमोदन हुनसक्ने अनुमान समेत ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

‘यदि एमसीसी परित भएपनि क्षेत्रीय अन्तरनिर्भरतालाई कम गर्ने अमेरिकी अभियानको हिस्सा नेपाल बन्न सक्दैन’ वाङ यी लेख्छन्, ‘हाम्रो आशा भनेको, नेपालले वासिङ्टनको खेलमा भाग लिने सम्भावना कम छ र तटस्थ हुने अपेक्षा गरिएको छ ।’

डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता दक्षिण एसियाली मुलुकहरुलाई इन्डो–प्यासिफिक रणनीतिको हिस्सा बनाउने प्रयत्न भएको भनिएको छ । सन् २०१७ मा बीआरआइमा हस्ताक्षर भएयता नेपाल र चीनको आर्थिक सम्बन्ध बलियो र निकट हुँदै आएको उल्लेख गर्दै अखबारले नेपाल र चीनबीचको सम्बन्धलाई अमेरिकाले ५०० मिलियन डलरको परियोजनाले दबाउन खोजे त्यो असफल हुने दावी समेत गरिएको छ ।

‘यदि अमेरिकाले नेपालको वास्तविक चासोलाई सम्बोधन गर्ने हो भने एमसीसी सम्झौतामा आवश्यक संसोधन गर्नुपर्छ । यसले नेपालको क्षेत्रीय अन्तरनिर्भरतालाई पनि सघाउँछ’ ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर