एमाले महाधिवेशनको बन्द सत्र होटल सेभेनस्टारमा – Nepal Press

एमाले महाधिवेशनको बन्द सत्र होटल सेभेनस्टारमा

चितवन । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने भएको छ । यही मंसिर १० गते नारायणी नदिकिनारमा उद्घाटन गरेपछि बन्दसत्र र नेतृत्व छनौटका काम सौराहाबाट हुनेछ ।

महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिका सहसंयोजक स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको बताए ।

‘यहाँ करिव ६५ सय बेड रहेछन्, हामीलाई अधिकतम ४ हजार बेड भए पुग्छ’, उनले भने, ‘यहाँका पर्यटन व्यवसायीसँग कुन होटलमा कति राख्न सकिने विवरण मागेका छौँ, सोही अनुसार बुक गर्नेछौं ।’ क्षेत्रीय होटल संघ (हान) सौराहा र रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको बताए ।

महाधिवेशनको बन्दसत्रमा सहभागिलाई एकै मेसबाट खाना-खाजाको व्यवस्थापन गर्ने योजना रहेको बताए । उनका अनुसार ५ छाक खानाको व्यवस्थापन गर्न खाद्यान्न सामाग्री जुटाइनेछ । बन्द सत्रमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमध्ये १ हजार ७ सय ५० जना भोलि निर्वाचनबाट छनौट हुनेछन् ।

महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख बढी जनता सहभागी गराइने तयारी भएको बताए । उनका अनुसार बागमती प्रदेशबाट २ लाख ५० हजार, प्रदेश नम्बर २ बाट १ लाख, लुम्बिनी प्रदेशबाट ७५ हजार, गण्डकी प्रदेशबाट ५० हजार जनता सहभागी हुने अनुमान छ ।

उद्घाटन सत्रमा छिमेकी देशका सत्ता र प्रतिपक्ष दलका शीर्षनेताहरुलाइ समेत निमन्त्रणा पठाइएको बताए । नारायणी नदि किनारमा हुने उद्घाटनसत्रलाइ देशका मुख्य शहरबाट लाइभ हेर्न मिल्ने गरि डिस्प्ले बोर्डहरू राखिने तयारी छ । बुटवल, जनकपुरसम्म डिस्प्ले बोर्ड राख्ने योजना छ ।

उद्घाटनस्थलमा विशाल गैडाको मूर्तिमाथि राष्ट्रिय झण्डा र एमालेको लोगो अंकित झन्डा राखिदैछ । २ तले मञ्चमा रहेका अतिथिलाई सहजै हेर्न र सुन्न मिल्ने गरि व्यवस्था मिलाइनेछ । स्टेज निर्माणको काम मंसीर १ गतेदेखि सुरु हुनेछ । आज होटल सेभेन स्टारमा जनप्रतिनिधि र सरोकारवाला पक्षसहितको भेला बसेर तयारीबारे छलफल गरिएको थियो ।

यसअघि हात्ती महोत्सव हुने बाघमारा चौरमा बन्द सत्र गर्ने तयारी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर