चिसोसँगै प्रदुषण बढ्दैछ, सतर्क रहौँ : मौसमविद् – Nepal Press

चिसोसँगै प्रदुषण बढ्दैछ, सतर्क रहौँ : मौसमविद्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहन आग्रह गरेका छन् ।

उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको छ ।

कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्रि सेल्सियससम्म पुगेको छ । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।

वरिष्ठ मौसमविद् पौडेलले भने, ‘यो हप्ता दिन १० दिन भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातीको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ, कात्तिक महिनामा नै यत्ति चिसो हुँदै जाँदा विशेष गरेर रातिको आकाश खुल्ला अवस्थामा छ, दिनहरु पनि छोटो हुँदै जान्छ,हिजो आजको मोसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रिसम्म आएको अवस्था छ, तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ यो वर्ष, अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।’

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढिरहेकोले नेपालमा पनि जाडोयाममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए। उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए ।

वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्न आग्रह गरे ।

‘विशेष गरेर गर्मी याममा भन्दा जाडो याममा प्रदूषण बढी हुन्छ, वायुमण्डल स्थिर भएर बसेको हुन्छ, त्यसले गर्दा जति पनि प्रदूषणहरु हुन्छ, हाम्रो भेकल, गाडीहरुबाट जाने, उद्योगहरुबाट जाने प्रदूषणहरु वायुमण्डलको माथि आकाशमा उड्न सक्दैन, वायुमण्डलको तल्लो स्तरमा बसेको हुन्छ, त्यही लेयरबाट हामी श्वासप्रश्वास गर्छौं, त्यस्तोबेलामा आँखा पिरो हुने, धमिलो हुने,कतिपय स्थानमा दिउँसै अध्यारो जस्तो हुने, जाडो याममा लामो खडेरी भयो भने त्यस्तो खालको गतिविधि हुन्छ, यस्तो बेलामा वायुमण्डल स्थिर हुन्छ, त्यसैले के पनि भनिन्छ भने जाडो याममा मर्निङ वाक गर्न राम्रो मानिँदैन, बरु बन्द कोठामा योगा गर्नुपर्छ, जाडो याममा दिउँसोको तुलनामा बिहान र बेलुका बढी प्रदूषण हुन्छ, त्यसैले धेरै भीडभाड हुने शहरी क्षेत्रमा यस्तो खालको अवस्था हुनसक्छ, त्यसैले घरभित्रै बस्ने, मर्निङ वाकमा ननिस्किने, दिउँसो घाम लागेको बेलामा मात्रै बाहिर निस्किने, चिसोबाट बच्ने उपायहरु अपनाउने, बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउँदै जानुपर्ने हुन्छ ।’

वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर