महेश बस्नेतको जिकिर: केपी ओली ‘फादर अफ द नेशन’ – Nepal Press

महेश बस्नेतको जिकिर: केपी ओली ‘फादर अफ द नेशन’

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वममन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अध्यक्ष केपी ओली ‘फादर अफ द नेशन’ भएको बताएका छन् । नेकपा एमाले दक्षिणकाली नगर कमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली कै कारण विश्वमा नेपालको स्वभिमान उचो भएको बताए।

मुलुकको विकास र समृद्धिको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अध्यक्ष ओलीले खेलेकाे भूमिका ऐतिहासिक भएको उल्लेख गर्दै नेता बस्नेतले ओलीकै मिसन र भिजनमा अबको नेपालको राजनीति दशकैंसम्म रहने दावी गरे ।

उनले भने ‘नेन्सल मण्डेलालाई दक्षिण अफ्रीकामा फादर अफ नेशन भन्छन् । त्यस्तै आम नेपाली जनताको बीचमा फादर अफ द नेशन भनेर नेपालमा केपी ओली हो भन्ने पुष्टि भएको छ । त्यसैले केपी ओली आइलभ यु, आजलाई हैन भोलीलाई १० वर्ष ओलीलाई भन्ने नारा लगाएका छन् । त्यसैले सारा नेपाली जनताले केपी ओलीलाई ‘फादर अफ द नेशन’ भनि घोषणा गरिरहेका छन् ।’

त्यस्तै ओली नेतृत्वको सरकारले भारतीय एकाधिकारको अन्त्य गर्दै चाइनासँग समेत पारबहन सन्धी गरी भुपरिवेष्ठित नेपाललाई भूजडित बनाएको उल्लेख गर्दै नेता बस्नेतले ओलीले संसदको रोष्टममा बसेर ‘सत्य मेव जयते कि सिंह मेव जयते’ रु भनि भारतलाई चुनौति दिनुभएको समेत स्मरण गराए ।

अध्यक्ष ओलीले भुगोलमा नेपाल सानो भएता पनि स्वभिमानमा नेपाल र भारतलगायतका अन्य सम्पूर्ण मुलुकहरुको हैसियत समान रहेको विश्वसामु स्थापीत गराएको उल्लेख गर्दै नेता बस्नेतले ओली नेतृत्वको सरकारको पालामा परराष्ट्र नीति तथा सम्बन्ध समेत ऐतिहासिक सफलतामा पुगेको उदाहरणसहित प्रस्तुत गरे।

ओली नेतृत्वको सरकारले युवा, महिला, विद्यार्थी, दलितलगायतकालाई विना धितो सहुलियत दरमा ऋण दिने व्यवस्था, प्रधानमन्त्री रोजगारको व्यवस्था गरी देशमा नै रोजगारीको असंख्य योजनाहरु, नेपाललाई रेलमार्गको शुभारम्भ, सुरुङ युग, मेलम्चीको खानेपानी काठमाडौँ ल्याएकोलगायतका जनताले देख्ने र भोग्ने गरी काम गरिरहेको समयमा गठबन्धनको नाममा परमादेशबाट बनेको सरकारबाट जनतालाई नुन नभएको तरकारी जस्तो खल्लो महशुस भइरहेको उनको भनाइ छ ।

केपी ओलीको राजनीतिक हाइट र लाईटले अन्य दलका नेताहरुको टाउको दुखाई भएको उल्लेख गर्दै नेता बस्नेतले नेपाललाई अविकसितबाट विकासन्मुख राष्ट्रको रुपमा मुलुकलाई पुर्याउन सफल भएको बताए। नेपाली जनताको सुख र समृद्धिको लागि एमालेले कुशासन र तस्करहरुलाई परास्त गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दैै नेता बस्नेतले कांग्रेससहितको गठबन्धनले कुशासनलाई प्रश्रय दिने तथा तस्कर र माफियालाई संरक्षण गरेको आरोप लगाए ।

ओली नेतृत्वको सरकारको पालामा मुलुकलाई अल्पकालीन तथा दिर्घकालिन योजना निर्माण गरी समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य तथा आधार तयार गरेको तथ्यगत रुपमा प्रस्तुत गर्दै नेता बस्नेतले माधव नेपालले पार्टी छोडेर भागेपछि एमाले गुटरहित भएको बताए । उनले भने, ‘एमालेभित्रको गुटको फाहोरी खेल खेल्ने माधव नेपालले गरेको तर अहिले विदा गरेकाले अबका दिनमा एमालेमा कुनै पनि गुट रहेको छैन । गुटको पुच्छर समाएर बैतर्नी तर्न खोज्ने कोही रहे कार्यकर्ताले त्यसलाई आगामी दिनमा सफा गर्दै लैजानेछन् ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाउ थाप्ने च्याँखे खेलाडी भएको उल्लेख गर्दै नेता बस्नेतले स्थानीय तहमा आफ्नो छोरी जिताउन कांग्रेससँग दाउ थापेर सफल भएको समेत आरोप लगाए ।

त्यस्तै स्थानीय तहको निर्वाचनको परिणामबाट आत्तिएर संघ सरकारमा एमालेसँग च्याखे थापेर एक सिट जित्न पनि कठिन भएको पार्टीले ५३ सिट ल्याउन सफल भएको उल्लेख गर्दै नेता बस्नेतले केपी ओलीलाई निलेर एमालेलाई निल्ने प्रचण्डको योजना असफल भई सडकमा पच्छारिएको दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर