२० लाख ५९ हजार ९५ रुपैयाँसहित जुवातास खेलिरहेको एक सय जना पक्राउ – Nepal Press

२० लाख ५९ हजार ९५ रुपैयाँसहित जुवातास खेलिरहेको एक सय जना पक्राउ

काठमाडौं । तिहार सकिनै लाग्दा मुलुकभरका विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २० लाख ५९ हजार ९५ रुपैयाँसहित जुवातास खेलिरहेका एक सय जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका छ नयाँ बस्ती ओलाङचुङ्गोला गुम्बा नजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ५१ वर्षीय माधब आर्चायसहित १८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उक्त कोठामा कौडा खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद छ लाख ३२ हजार ५ सय रुपैयाँ र ४८ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका सागरको प्रहरीले खोजी कार्य जारी राखेको छ ।

कपिलबस्तुको बाणगंगा नगरपालिका–दुइ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक स्थानीय ३३ वर्षका रमेश भट्टराईसहित १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार सात सय ४५ रुपैयाँ र दुइ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कपिलबस्तुकै बाणगंगा नगरपालिका एकस्थित किशोरजंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा स्थानीय ४५ वर्षका उदय अधिकारीसहित १८ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद पाँच लाख ४२ हजार तीन सय ८० रुपैयाँ र तीन थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै रुकुम पश्चिम, मुसिकोट नगरपालिका एक मठका ४३ वर्षका उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा उत्तम लगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख आठ हजार दुइ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका आठ कबडहलका ६३ वर्षका गोबिन्दबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा गोबिन्दसहित छ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद एक लाख ७२ हजार चार सय ५० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका छ तेलकोट वेसीटोलका ४० वर्षका दिपककुमार तामाङको मंगोलियन वेभ रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा दिपकसहित १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त बारमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद दुई लाख ६८ हजार तीन सय ९० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

लमजुङको बेसिशहर नगरपालिका तीन गाउँशहरका २९ वर्षका सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा सन्तोषसहित १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद एक लाख ५६ हजार पाँच सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

गोरखाको गोरखा नगरपालिका आठ चाईनिजधाराका २९ वर्षका मन्दिप श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा मन्दिप लगायत नौ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अव्स्थामा नगद एक लाख एक हजार आठ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।

सबै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी गराएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर