शेरबहादुरकी बहिनी मीना : भाइटीका लगाए, चुनाव हराए – Nepal Press

शेरबहादुरकी बहिनी मीना : भाइटीका लगाए, चुनाव हराए

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ मीना पाण्डेलाई यसवर्षको तिहार रमाइलो लागेको छैन । दाजु शिवबहादुर खड्काको गत बैशाख १९ गते निधन भयो । दाजुको निधनको शोकले यसवर्षको तिहार मीनाका लागि खल्लो छ ।

रामेछापको बेथानमा खड्का परिवारमा जन्मिएकी मीनाका दाजु शिवबहादुर नेविसंघका संस्थापक सदस्य र संविधानसभा सदस्य मात्रै थिएनन् कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका घनिष्ठ मित्र पनि थिए । २०२१/२२ सालतिरको कुरा हो । शेरबहादुर र शिवबहादुर दुवै नख्खु जेलमा थिए । भाइटीकाको दिन दाजु भेट्न मीना जेलमै पुगिन् । जेल पुगेका दिदीबहिनीले आ-आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिए ।

दाजु शिवबहादुरलाई भाइटीका लगाइदिन नख्खु पुगेकी मीनाले शेरबहादुरको निधार खाली हुन दिइनन् । मीनाकै हातबाट शेरबहादुरले पनि भाइटीका लगाए । त्यसयता मीनाले देउवालाई नै भाइटीका लगाइदिँदै आएकी छन् । देउवाले केही तिहारमा भने बहिनी दुर्गादेवी चन्दको हातबाट पनि भाइटीका लगाएका छन् ।

गतवर्ष कोरोनाको कहर एकातिर थियो भने मीना स्वयं बिरामी थिइन् । पछिल्लो पटक २०७६ सालमा मीनाले दाजु शिवबहादुरसँगै देउवालाई पनि भाइटीका लगाइदिएकी थिइन् । देउवा प्रधानमन्त्री छँदा बालुवाटारमै र अन्य बेला मीनाको बत्तीसपुतलीस्थित निवासमा भाइटीकाको कार्यक्रम हुनेगर्छ । यसवर्ष शिवबहादुरको निधनले मीना शोकमा छिन् । टीका त छैन नै शेरबहादुरसँग भेटघाट पनि तय भएको छै्रन ।

मिल्ने साथी हुन् देउवा र खड्का

गत बैशाखमा शिवबहादुरको निधनपछि कांग्रेस सभापति देउवाले आफूले एक अनन्य मित्र गुमाएको प्रतिक्रिया दिए । हुनपनि शिव र शेरको मित्रताको चर्चा कांग्रेसको राजनीतिक वृत्तमा निकै हुनेगर्छ । डडेल्धुराका देउवा र रामेछापका खड्का दुवै त्रिचन्द्र कलेजका विद्यार्थी थिए । आन्दोलनका क्रममा एकैसाथ जेल परेपछि उनीहरुको दोस्ती गहिरियो ।

साइन्स पढ्ने देउवा र कमर्श पढ्ने खड्का दुवैले विषय परिवर्तन गरेर ‘आर्ट्स’ पढ्ने निर्णय जेलमै लिएका थिए । धोबीधारा बस्ने देउवा र बानेश्वर बस्ने खड्काले कैयौ छाक भात सँगै खाएका छन्, कैयौ रात सँगै बिताएका छन् । खड्काको घरमा देउवा पुग्दा मिठो खाना पकाएर खुवाउने जिम्मा उनै बहिनी मीनाको थियो ।

नेविसंघका दश संस्थापक नेतामध्ये देउवा र खड्कापनि थिए । देउवा नेविसंघको दोस्रो कार्यकालमा सभापति नै भए ,पार्टीको सभापति बने र पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनिसकेका छन् । दुवै मिल्ने साथीकी प्यारी बहिनी हुन् मीना ।

दाजुबहिनी राजनीतिमा मिलेनन्

देउवाले २०५९ सालमा आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । मित्र शिवबहादुर खड्कालाई सो पार्टीको केन्द्रीय सदस्य बनाए । दुवैकी प्यारी बहिनी मीना भने पार्टी छाड्न राजी भइनन् । नेपाली कांग्रेसमै रहेकी मीना नेपाली कांग्रेसमै बसिन् ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महिला मन्त्री पनि बनिन् । दुवै दाइसँग राजनीतिक सहकार्य नगरेपनि दाजु बहिनीको सम्बन्ध कहिल्यै तितो रहेन । ‘भेट हुँदा राजनीतिक कुरा कमै भए । राजनीतिमा मैले शेरबहादुर दाइसंग आश पनि गरिन, निराश पनि भइन’, पाण्डे भन्छिन् ।

नेपाल महिला संघको अघिल्लो अधिवेशनमा मीना संस्थापन इतर समूहबाट अध्यक्षको प्रत्याशी बनिन् । जहाँ देउवाले आफूलाई भाइटीका लगाइदिने मीनालाई कुनै सहयोग गर्न सकेनन् । ‘महिला संघको निर्वाचन राजनीतिक विषय हो । त्यहाँ उहाँले मलाई सहयोग गर्ने वा मैले उहाँको सहयोग खोज्ने कुरै थिएन’, मीना भन्छिन् ।

राजनीतिक रुपमा दाजु शेरबहादुरबाट सहुलियत नपाएकोमा मीनालाई कुनै गुनासो छैन । ‘उहाँसंँग दाजुबहिनीको सम्बन्ध हो । अहिले त उहाँ पार्टी सभापति हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ । उहाँका धेरै दिदीबहिनी छन् । सबैलाई चित्त बुझाउन गार्हो पनि होला । मैले उहाँसँग गुनासो गर्नुपर्ने केही छैन, मलाई चाहिएको पनि केही छैन’, पाण्डे भन्छिन् ।

कांग्रेसको आन्तरिक राजनीतिमा अलग–अलग बाटोमा उभिएपनि व्यक्तिगत सम्बन्ध हार्दिक नै रहेको मीना बताउँछिन् । २०४८ र ५१ मा प्रत्यक्ष निर्वाचित भएकी मीना अहिले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छिन् । महिला अधिकार र प्रजातान्त्रिक आन्दोलनमा आफूले गरेको योगदानप्रति गर्व गर्छिन् ।

प्रतिबन्धित राजनीतिमा देउवासँग आफ्नो सहकार्य भएपनि सत्ता राजनीतिमा नभएको मीना बताउँछिन् । ‘उहाँ र म संघर्षको बेलादेखिका दाजुबहिनी हौं । सत्ता र शक्तिले बनाएको सम्बन्ध होइन । त्यसैले मैले राजनीतिक रूपमा जे आर्जेको छु त्यसमा खुसी छु । बहिनीका रुपमा उहाँलाई सफलता मिलोस् भन्ने नै छ’, मीनाले भनिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर