बाइडेन र मोदीसहित जी-२० समूहका नेताहरु इटालीमा भेला – Nepal Press

बाइडेन र मोदीसहित जी-२० समूहका नेताहरु इटालीमा भेला

रोम । संसारका बीस धनी मुलुकका नेताहरु इटालीको राजधानीमा शुक्रबार भेला हुँदैछन् । रोयटर्सका अनुसार जी–ट्वान्टी रोम सम्मेलनमा सदस्य मुलुकहरुले विश्व तापमानलाई १.५ डिग्री सेल्सियभित्रै सीमित राख्न जरुरी कदमहरु चाल्ने अपेक्षा गरिएको छ ।

रोम सम्मेलनले आगामी साता स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा सहमती जुटाउन सजिलो तुल्याउने अपेक्षा गरिएको छ ।

शनिबार र आइतबार रोममा हुने सम्मेलनमा विश्व नेताहरुले जलवायु परिवर्तनको संकटसँग जुध्न पेरिस सम्झौतालाई कार्यान्वयन गर्नेबारे सहमतीको ढाँचा तयार पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

रोम सम्मेलनपछि विश्व नेताहरु स्कटल्यान्डको ग्लास्गोतर्फ प्रस्थान गर्नेछन् जहाँ कोप–२६ भनिने २०० मुलुकका प्रतिनिधिहिरु सहभागि जलवायु सम्मेलनमा भाग लिनेछन् ।

वातावरण संकट आउन नदिन जलवायु तापमानको १.५ थ्रेसहोल्डलाई कायमै राख्न जलवायु वैज्ञानिकहरुले चेतावनी दिइरहँदा सम्मेलन हुन लागेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो बाइडनसहितका विश्व नेताहरु रोम पुगेका छन् । तर, सम्मेलन आयोजना हुनु अघि नै रोममा हुने जी–ट्वान्टी सम्मेलनको ढाँचा तयार भैसकेको छ । जलवायु संकटलाई राजनीतिक नेतृत्वले गम्भीररुपमा लिनुपर्ने वातावरण वैज्ञानिकहरुको आह्वानलाई कार्यान्वयन गर्ने रोम ड्राफ्को मुख्य बुँदा छ ।

‘विश्व तापमानलाई १.५ डिग्रीमै सीमित राख्न र २ डिग्रीमा पुग्न नदिन जरुरी कदम चाल्न हामी सहमत छौं’ उक्त सहमतीको ड्राफ्टमा उल्लेख भएको जनाइएको छ ।

सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शून्यमा लैजाने प्रतिबद्धता समेत उक्त ड्राफ्टमा समावेश भएको रोयटर्सले जनाएको छ । तर, प्रस्तावित ड्राफ्ट अझै संशोधन हुनसक्ने अधिकारीहरुले जनाएका छन् । तर, संसारका प्रमुख कार्बन उत्सर्जन गर्ने कम्पनीहरुले चाहिँ सन् २०५० सम्म यो लक्ष्य भेट्न नसकिने बताइरहेका छन् ।

चीनले सन् २०६० सम्मको लक्ष्य राखेको छ । जी–२० मुलुकका सदस्य मुलुकहरु ब्राजिल, चीन, भारत, जर्मनी र अमेरिकाले संसारको कूल गार्हस्थ्य उत्पादनको ८० प्रतिशत, विश्व जनसंख्याको ६० प्रतिशत र विश्वव्यापी ग्रीनहाउस ग्याँस उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर