लुम्बिनी सरकारको अलमलले योजना प्रभावित बनेको एमालेको आरोप – Nepal Press

लुम्बिनी सरकारको अलमलले योजना प्रभावित बनेको एमालेको आरोप

रुपन्देही । नेकपा एमाले लुम्बिनीले वर्तमान सरकारले मन्त्रिमण्डल बिस्तारमै दुई महिनाभन्दा बढी समय लगाएर पहिलो चौमासिक सकिन लाग्दा पनि कार्ययोजना बैठकसमेत बस्न नसकेको बताएको छ ।

एमाले संसदीय दलको कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा दलका उपनेता बैजनाथ चौधरीले सरकारको अलमलका कारण चालु वर्षका योजना पुरा हुनेमा आशंका उब्जिएको बताए ।

उनले सरकारले बजेट संशोधनको नाममा बहुवर्षीय योजनाहरुमा व्यापक कटौती गरेको भन्दै वर्तमान सरकारले ल्याएको बजेटले प्रदेशको समृद्धि हासिल नहुने बताए ।

एमालेले प्रस्तुत गरेको जनमैत्री समाजवादउन्मूख बजेट संशोधनका नाममा अनावश्यक कांटछांट गरेर भुत्ते बनाउने कामबाहेक सरकारले केही गर्न नसकेको उनको भनाइ थियो ।

चौधरीले वर्तमान सरकारले राजनीतिक प्रतिसोध सांध्ने काम गरेर आमजनताको मन दुखाउने धृष्टता गरेको समेत आरोप लगाए ।
गत असोज २४ गते चारजनाको ज्यान जाने गरी मोतीपुरमा भएको घटनाको विषयमा समेत प्रदेश सरकारले समन्वय गर्न नसक्दा हिंसा भड्किएको एमालेको भनाइ रहेको छ ।

किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन मुख्यमन्त्रीको ध्यानाकर्षण

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले चार दिनदेखि परेको बेमौसमी बर्षाका कारण धानखेती नष्ट भएकोले किसानहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ ।

एमाले संसदीय दलले बुधवार मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाउंदै बाढी पहिरोको कारण प्रदेशका विभिन्न स्थानमा अवरुद्ध बनेका सडकहरु खुलाउन र आवागमनलाई सहज बनाउंदै धानखेतीमा नोक्सानी बेहोरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो ।

मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाउँदै एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मौसम पूर्वानुमान विभागले वर्षा हुनसक्ने पूर्व जानकारी दिएपनि सरकारले त्यसतर्फ किसानलाई सचेत बनाउन नसक्दा ठूलो क्षति हुन पुगेको बताए ।

विगत चार दिनदेखि परेको अविरल वर्षाका कारण प्रदेशका सबैजसो जिल्लामा पाकेको धानबाली नष्ट भएको छ ।
रुपन्देही, कपिलवस्तु, नवलपरासी, बांके, दाङ लगायतका जिल्लाहरुमा किसानहरुले काटेर खेतमै राखेको र काट्न बाँकी रहेको धान समेत नष्ट भएको छ ।

उपनेता चौधरीले यति ठूलो प्राकृतिक प्रकोप सिर्जना हुंदा पनि प्रदेश सरकारले अहिलेसम्म कुनै सरोकार नराखेको भन्दै त्यसतर्फ तत्काल ध्यान पुर्‍याउन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर