कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई सयभन्दा बढी बिरामी, दुईजनाको मृत्यु – Nepal Press

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई सयभन्दा बढी बिरामी, दुईजनाको मृत्यु

रूपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेका अनुसार वडा नम्बर ७, ८, ९ मा गएरातिदेखि बान्ता र झाडापखालाका बिरामीको संख्या ह्वातै बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगगञ्जमा गएरातिदेखि उपचार गराउन आउनेको संख्या बढेको डाक्टर मुकेश चौधरीले बताए । अहिले ५२ जना उपचाररत छन् भने ७ जनालाई थप उपचारका लागि बाहिर पठाइएको छ ।

बहादुरगञ्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरालगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढेको अस्पतालले जनाएको छ ।

झाडावान्ताका कारण कृष्णनगर-९ का ५ वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय राप्रसाद केवटको स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको स्थानीय पत्रकार माधव बेल्वासेले जानकारी दिए ।

स्थानीय क्लिनिकमा बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म विभिन्न गाउँका दुई सयभन्दा बढी मानिसहरू बिरामी परेका छन् ।

दूषित पानी र सरसफाइ अभावका कारण झाडापखालाका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् । स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यत्तिकै खाँदा बिरामी बढेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *