सिके राउतको पार्टीका कार्यकर्ताले गरे नगरपालिका कार्यालयमा तोडफोड, सडक मर्मत नगरेको आरोप – Nepal Press

सिके राउतको पार्टीका कार्यकर्ताले गरे नगरपालिका कार्यालयमा तोडफोड, सडक मर्मत नगरेको आरोप

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरुले आज जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दी गरेको छ ।

सडकहरु मर्मत नगरेको भन्दै प्रदर्शन गर्न उपमहानगरपालिका पुगेका जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । उनीहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न गइरहेका कार्यकर्तालाई सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि आक्रोशित भएर जनमत पार्टीका कार्यकर्ताहरु न्यायिक समितिमा तोडफोड गरेका छन् । उनीहरुले उपमहानगरपालिकाको प्यासेजमा राखिएको गमला समेत फोडेको एक कर्मचारीले बताए ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जनकपुरधाम उपमहानगरपालिका– ८ बलुवा टोलस्थित हिलाम्मे बनेको सडक मर्मत गराउन जनप्रतिनिधिले चासो नदेखाएको आक्रोश सामाजिक सञ्जालमा पोखेका थिए । त्यसपछि उनका कार्यकर्ता आन्दोलित बनेका हुन् ।

जनकपुरधाम उपमहानगरमा तोडफोड र तालाबन्दी गर्नु अगाडि जनमत पार्टीका कार्यकर्ताहरु जनकपुरधाम–८ स्थित खानेपानी तथा ढल व्यवस्थापन विभागमा पनि तालाबन्दी गरेका छन् ।

ढल निर्माणका लागि ठेकेदारले सडकमा खाल्डो खनेको छ । खाल्डो खनेको महिनौं बितिसक्दा पनि काम अगाडि नबढाउँदा अहिले सडक अवरुद्ध बनेको डा. राउतले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका र खानेपानी विभागले आफ्नो निवासको दुइतिरै खनेर एक हप्तादेखि बाटो अवरूद्ध गरेको हुनाले हरेक सोमबार पार्टी सचिवालयमा हुने ‘खुला भेटघाट’ कार्यक्रम स्थगित गरिएको अध्यक्ष डा. राउतले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर