व्यवस्थापनविरुद्ध राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित – Nepal Press

व्यवस्थापनविरुद्ध राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित

काठमाडौं । विनियमावलीविपरीत व्यवस्थापन चलेको भन्दै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न माग राखेर व्यवस्थापनलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

आफ्ना मागहरू पूरा नगरे कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । कर्मचारीहरूको सरुवा/बढुवा प्रकृयालाई व्यवस्थित गर्न पारदर्शी मापदण्डहरू तयारी गरी अनुमान योग्य बनाउन संघले माग गरेको छ ।

यसैगरी शाखा वर्गीकरणलाई व्यवस्थित गर्दै दरवन्दी निर्धारण गरी कर्मचारी उचित व्यवस्थापन, हरेक कार्यालयमा रहेका दरवन्दी र कार्यरत कर्मचारीको शुरूआतमा पारदर्शीता, न्यून कर्मचारीबाट अधिकतम उत्पादकत्व प्राप्त गर्न आम कर्मचारीलाई उत्प्रेरित गर्ने कार्यक्रम ओभरटाइम , दैनिक भ्रमण भत्ता, दुर्गम क्षेत्र भत्तालगायतका सुविधाहरूको माग गरिएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघका महासचिव मिलनबाबु नेपालले विनियमावलीअनुसार काम कारवाही गर्नका लागि व्यवस्थापनलाई दबाब दिन संघर्ष थालेको बताए । ‘सरुवा, बढुवा दरवन्दी मिलान पारदर्शी छैन । कुन शाखामा के-कस्तो जनशक्ति व्यवस्थापन गरिएको छ थाहा छैन । कर्मचारीलाई आस्थाको आधारमा काखा र पाखा गरिन्छ । त्यसैको विरुद्ध हामीले आवाज उठाएका हौं’, नेपालले भने ।

‘राष्ट्रिय वाणिज्य बैंकमा रहेका कर्मचारीका समस्या, व्यवस्थापकिय समस्या र राष्ट्रिय वाणिज्य बैंकलाई प्रतिस्पर्धी बनाउने सन्दर्भमा हामीले बैंकको व्यवस्थापनलाई ध्यानाकर्षण गराएका छौं’, उनले नेपाल प्रेसलाई बताए ‘हाम्रा माग पुरा नभए जस्तो सुकै संघर्ष र आन्दोलन गर्ने चेतावनी समेत दिएका छौं ।’

कर्मचारी सेवा विनियमावली संशोधन गरी पदपूर्ति प्रकृया अगाडि बढाउनुपर्ने, वृत्ति विकासमा अवरोध भएका कर्मचारीलाई उत्प्रेरित गर्नु्पर्ने, लामो समयदेखि दुर्गममा काम गरिरहेका कर्मचारीलाई विनियमावलीबमोजिम व्यवस्थापन गर्नुपर्ने, दैनिक ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरूको पुरानो सहमतिबमोजिम कार्यान्वयन तथा व्यवस्थापन गर्नुपर्नेलगायतका मागहरू संघले राखेको छ ।

अपारदर्शी र राजनैतिक पूर्वाग्रह राखी गरिएका सरुवा रद्द गर्नुपर्ने, काजमा कार्यरत कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, बैंकभित्रको आन्तरिक नियन्त्रण प्रणाली र सुशासनलाई चूस्त, दुरुस्त बनाउनुपर्ने, सीएसआर तथा विज्ञापन वापत वितरण गरिएको रकमलाई स्पष्ट मापदण्डबमोजिम पारदर्शी बनाउनुपर्ने र व्यवसाय विस्तारको प्रभावकारी लक्ष्य निर्धारण र वैज्ञानिक तथा व्यवहारिक रणनीति तयार पार्नुपर्ने लगायतका माग पनि व्यवस्थापनसामु राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर