काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय भोलिदेखि एकतर्फी खुल्ने, प्रशासनले भन्यो : अटेर गरे कार्वाही हुन्छ – Nepal Press

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय भोलिदेखि एकतर्फी खुल्ने, प्रशासनले भन्यो : अटेर गरे कार्वाही हुन्छ

काठमाडौं । कोरोनाभाइरस महामारीको बाबजुद पनि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भोलिदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने भएको छ । नगरपालिकाले विद्यालय संचालनका लागि अनुमति दिएको छ ।

नगरपालिकाको शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकालले लामो समयदेखि विद्यार्थीहरु घरमै रहँदा पढाइमा समस्या हुने भएकाले आवश्यक मापदण्ड पुरा गरी पठनपाठन संचालनको अनुमति दिइएको बताए । विद्यालय संचालकले पनि विद्यालय संचालन गर्न माग गर्दै आएका थिए ।

आइतबार बसेको नगर शिक्षा समितिको बैठकले १५ गतेबाट विद्यालय संचालनका लागि अनुमति दिएको थियो । ढकालका अनुसार यसबारेको जानकारी सम्बन्धित निकायमा पठाइएको छ । ढकालका अनुसार शिक्षाका सरोकार निकाय र स्थानीय राजनीतिक दलको छलफलपछ भौतिक उपस्थितीमै कक्षा संचालनको माग भएको थियो । सोही मागको आधारमा नगरपालिकाले विद्यालय संचालनको अनुमति दिएको हो ।

विद्यालयलाई जिम्मेवारी दिएर पठनपाठन संचालन गर्न भनिएपनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डबारे अनुगमन गर्ने भएको छ । नगरपालिका उपमेयर शान्ति नेपालका अनुसार विद्यालय संचालकको दबाबपछि यस्तो अनुमति दिइएको हो । तर, अभिभावकले भने विद्यालय सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले यो निर्णय गलत भएको बताएका छन् ।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालनासहित संचालन अनुमति दिइएको शिक्षा शाखा अधिकृत ढकालले बताए। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले तोकेका मापदण्ड पालना गर्दै विद्यालय खोल्न लागिएको उनको भनाई छ । विद्यार्थीलाई अभिभावकले नै स्कुलसम्म लैजाने, अभिभावक लिन आउने, घरबाटै खाजाको व्यवस्था गर्ने, स्कुल बस अनिवार्य रुपमा स्यानिटाइज गर्ने, कक्षाहरुमा भौतिक दूरी कायम गर्ने, साबुन पानीको बन्दोबस्त गरी बेलाबेला हात धुन लगाउनु पर्ने सर्त राखिएको छ ।

सामुदायिक १६ वटा र संस्थागत ९१ वटा विद्यालय रहेको सो नगरपालिकामा अहिले ४० हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने विद्यालय सञ्चालनको अनुमति दिएको छैन । सीसीएमसीको कार्यविधि अनुसार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले विद्यालय लगायतका भीडभाड हुने क्षेत्र खुलाउन अनुमति दिएका छैनन् । काठमाडौं सीडीओ कालिप्रसाद पराजुलीले विद्यालय संचालनको अनुमति नदिएको बताए । ‘तत्काल विद्यालय संचालनको अनुमति छैन । नियम अटेर गरे कानूनअनुसार अघि बढ्नुपर्ने हुनसक्छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *