कमेडी च्याम्पियन: सधैँ हँसाउने विक्की अग्रवालले रुँदै स्टेज छोडेपछि… – Nepal Press

कमेडी च्याम्पियन: सधैँ हँसाउने विक्की अग्रवालले रुँदै स्टेज छोडेपछि…

काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजनका एक चर्चित प्रतियोगी हुन्, विक्की अग्रवाल । उनी सुरुदेखि उपाधिका एक दावेदार मानिएका छन् ।

भारतको सिक्किमदेखि आएर प्रतिस्पर्धा गरिरहेका विक्की मौलिक र फरक प्रस्तुतिका लागि चिनिन्छन् । उनले आफ्नो यही शैलीलाई हिजो प्रशारित अन्तिम ४ को प्रतिस्पर्धामा निरन्तरता दिए । तर, आवश्यकताभन्दा बढी प्रयोग गर्न खोज्दा यो प्रस्तुति उनका लागि कतै ‘आत्मघाती’ बन्ने त होइन भन्ने चिन्ता उब्जेको छ ।

बिक्कीले कमेडी च्याम्पियनको स्टेजमा नै पहिलोपटक ‘माइम एक्ट’ ट्राइ गरेका थिए । मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छ ? भन्ने थिममा उनले संवादहीन अभिनय पस्किए ।

मोनोलगको सहारामा विक्कीले दिएको प्रस्तुति कलात्मक थियो र उनी फरक टेस्ट दिन सफल भए । तर उनको प्रस्तुतिमा ‘कमेडी’ थिएन । कमेडी च्याम्पिनयमा पहिलोपटक कुनै प्रस्तुतिमा सन्नाटा छाएको थियो । दर्शक हँसाउने प्रतिस्पर्धाको निर्णायक मोडमा विक्कीले थियटरमा देखाउनेजस्तो गम्भीर र अमूर्त खालको प्रहसन गरेर जुवा खेलेका छन् ।

विक्की स्वयम्ले पनि प्रतियोगिताको महत्वपूर्ण घडीमा आफूले जोखिम मोलेको स्वीकारे । आफू फाइनलका लागि छनोट नहुन सक्ने खतरा बुझेर पनि यो विधा छनोट गरेको उनले बताए ।

‘मलाई थाहा छ, मलाई यसले फाइनलमा नपुर्‍याउन सक्छ,’ प्रस्तुतिपछि भावुक देखिएका उनले भने ।

विक्कीको प्रस्तुतिमा सन्तोष पन्तबाहेकका तीन जना निर्णायकले ‘स्टान्डिङ अभेसन’ दिएर तारिफको पुल बाँधेका थिए । प्रदिप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले एकस्वरले विक्कीको प्रशंसा गरिरहँदा सन्तोष पन्तले भने अलि क्रिटिकल कमेन्ट गरे ।

‘तिमीले फरक प्रस्तुति दिएका छौ, त्यसको लागि बधाइ छ,’ पन्तले भने, ‘तर, नेपाली समाजले र दर्शकले तिम्रो प्रस्तुति बुझ्दैन । मैले त बुझिनँ । यो हँसाउने शो हो, तर तिम्रो प्रस्तुतिमा कोही हाँस्यो त ? तिम्रो आफ्नै टेस्ट छ, त्यसलाई नै निरन्तरता देउ ।’

पन्तलाई जवाफ दिँदै विक्कीले भने, ‘यदि म आउट भएँ भने पनि मलाई जिरो पर्सेन्ट पनि पश्चाताप हुने छैन पेन्टोमाइम एक्ट गरेकोमा ।’

त्यसपछि प्रदिप भट्टराईले थप बोल्दै गर्दा विक्की अचानक स्टेजबाट बाहिरिए । उनी ब्याकस्टेजमा गएर रुन थालेपछि प्रोग्राम होस्ट र जजहरु गएर सम्हालेका थिए ।

त्यसो त विक्कीले यसअघिका एपिसोडहरुबाटै तार्किक ढंगले हँसाउने आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । फाइनलका लागि दर्शकले भोट गर्दा उनको विगतका प्रस्तुति पनि पक्कै सम्झिनेछन् । साथै भारतमा रहेको नेपालीभाषी समुदायबाट ठूलो सपोर्ट छ । त्यसैले यो प्रस्तुतिमा जोखिम मोले पनि फाइनलमा उनले स्थान बनाउन सक्ने अपेक्षा गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर