साउनमा निर्यात ११६ प्रतिशत वृद्धि, व्यापारघाटा करिब ७१ प्रतिशतले बढ्यो – Nepal Press

साउनमा निर्यात ११६ प्रतिशत वृद्धि, व्यापारघाटा करिब ७१ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ५० अर्बबराबरको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात, निर्यात र व्यापार घाटा बढेको पाइएको हो ।

गत आर्थिक वर्ष यस्तो आयात ८५ अर्ब ८० करोडको थियो । अर्थात गत वर्षको तुलनामा आयात ७५.६६ प्रतिशतले बढेको छ । यसैगरी निर्यात गत वर्षको अवधिको तुलनामा ११५.८५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा ९ अर्ब ६३ करोडको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्ष सोही अवधिमा २० अर्ब ७६ करोडको निर्यात भएको छ ।

गत आर्थिक वर्षमा वैदेशिक व्यापारतर्फ ९५ अर्ब ४२ करोड भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७१ अर्ब अर्थात ७९.७१ प्रतिशतले बढेको छ ।

वैदेशिक व्यापारसँगै व्यापारघाटा पनि बढेको छ । गत वर्षको साउन महिनामा कुल ७६ अर्ब १८ करोड व्यापारघाटा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७०.५९ प्रतिशतले बढ्दै १ खर्ब २९ अर्ब पुगेको छ । आयात-निर्यात र व्यापारघाटामा नेपाल भारतसँग बढी निर्भर देखिएको छ ।

चालु आर्थिक वर्षको साउनमा नेपालले भारतसँग ८९ अर्ब ४८ करोडको वस्तु आयात गरेको छ भने १६ अर्ब ८६ करोडको निर्यात गरेको छ । भारतसँगको व्यापारघाटा ७२ अर्ब ६१ करोड पुगेको छ । नेपालको भारतसँग आयातमा ५९.३२ प्रतिशत, निर्यातमा ८१.२१ निर्भरता देखिएको छ । साउनमा नेपालको कुल वैदेशिक व्यापारमध्ये भारतसँगको व्यापार घाटा ६२.३० प्रतिशत छ ।

यसैगरी नेपालले चीनबाट २० अर्ब ९७ करोडको वस्तु आयात गर्दा निर्यात ८२ करोड ७८ लाखबराबर छ । यसरी चीनसँग नेपालको व्यापारघाटा १२ अर्ब ५९ करोड रहेको छ । नेपालसँग अन्तर्राष्ट्रिय व्यापार गरेका १०२ मुलुकमध्ये १२ देशबाहेक सबैसँग नेपालको व्यापारघाटा छ । सबैभन्दा धेरै व्यापारमा फाइदा भएको मुलुक संयुक्त अधिराज्य बेला हो । बेलायतबाट नेपालले १७ करोड रुपैयाँको वस्तु आयात र २९ करोडको वस्तु निर्यात गरेको तथ्यांकमा देखिएको छ ।

अफगानस्तान, अर्मानिया, कम्वोडिया, कोरेसिया, जर्जिया, आइसल्याण्ड, पोर्चुगल, सेन्ट हेलेना, स्लोभाकिया, स्लोभेनिया र स्वीडेनसँग भने व्यापार घाटा छैन ।

नेपालले सबैभन्दा धेरै पेट्रोलिय पदार्थ, फलामे डण्डी, सवारीसाधान तथा पाटपुर्जालगायतका वस्तु आयात गर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *