विधान कार्कीको नेतृत्वमा नेपाल म्यूजिक भिडियाे निर्देशक समाज गठन – Nepal Press

विधान कार्कीको नेतृत्वमा नेपाल म्यूजिक भिडियाे निर्देशक समाज गठन

काठमाडौं । नेपाली म्यूजिक भिडियाे निर्देशकको छाता संस्था ‘नेपाल म्यूजिक भिडियाे निर्देशक समाज’ गठन गरिएको छ । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणी समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संस्था स्थापना भएको जानकारी गराएको हो ।

बर्षेनी अर्बौंको लगानी हुने म्यूजिक भिडियाे क्षेत्रमा कार्यरत निर्देशकहरु संगठित भई यो क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र व्यबस्थित बनाउन ‘नेपाल म्यूजिक भिडियाे निर्देशक समाज’ गठन गरिएको अध्यक्ष विधान कार्कीले बताए ।

म्यूजिक भिडियाे निर्देशकहरुको हकहितका लागि कार्य गर्ने बताउँदै अध्यक्ष कार्कीले भने- ‘पछिल्लो समय वर्षेनी म्यूजिक भिडियाेमा अर्बौंको लगानी भइरहेको छ । महामारीको समयमा त चलचित्र क्षेत्रलाई समेत म्यूजिक भिडियाेले बचाइरहेको अवस्था छ । यसैले गर्दा म्यूजिक भिडियाेलाई थप व्यवस्थित गर्न र निर्देशकहरुको अधिकारका लागि लड्न समाज गठन गरेका हौं ।’

अध्यक्ष कार्कीले निर्देशक समाजलाई सबै म्यूजिक भिडियाे निर्देशकहरुको साझा संस्था बनाउन प्रयास गरिने बताए । उनले अगाडि भने- ‘म्यूजिक भिडियाेका सबै निर्देशकलाई समाजमा गोलबद्द गर्न प्रयास गर्नेछौं । म्यूजिक भिडियाे निर्देशकका समस्यालाई समाधान गर्न समाज सधैं अग्रसर रहनेछ ।’ उनले चाँडै म्यूजिक भिडियाेका पहिलो निर्देशक शम्भुजीत बाँस्कोटा र पहिलो मोडल भुवन केसीलाई सम्मान गरिने पनि बताए ।

त्यस्तै, कार्यक्रममा समाजका महासचिव सुव्रतराज आचार्यले म्यूजिक भिडियाेलाई फिल्मजस्तै दर्ता प्रक्रियामा लैजानुपर्नेमा जोड दिए । उनले भने- ‘म्यूजिक भिडियाे पनि फिल्मकै एउटा पाटो हो । पछिल्लो समय चलचित्रमा झैँ म्यूजिक भिडियाेमा पनि कथा वाचन शैलीलाई प्राथमिकता दिन थालिएको छ । यसैले चलचित्र विकास बोर्डले म्यूजिक भिडियाेलाई पनि व्यवस्थित गर्न दर्ता प्रक्रिया सुरु गर्न आग्रह गर्दछु ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना महामारीको समयमा मनोरञ्जन क्षेत्रलाई बचाउन म्यूजिक भिडियाेको ठूलो योगदान रहेको बताए । उनले नवगठित निर्देशक समाजका पदाधिकारीलाई पेशागत हकहित र पेशागत मर्यादालाई स्थापित गर्न आग्रह गरे । म्यूजिक भिडियाे निर्देशक समाजसँग सहकार्य गरेर नीतिगत रुपमा नै अगाडि बढ्न बोर्ड तयार रहेको पनि उनले बताए ।

समाजमा १५ जनाको संस्थापन कमिटी छ । जसमा अध्यक्ष विधान कार्की, प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्वितिय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिव हेम प्रभाष अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सह-कोषाध्यक्ष निशान घिमिरे तथा सदस्यहरु शान थापा, समन अधिकारी, गम्भीर बिष्ट, अनुप चापागाईं, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल र राजेश पुमा राई छन् ।

समाजको सल्लाहकार सदस्यमा गीतकार डब्बु क्षेत्री र निर्देशक जनकदीपपराजुली नियुक्त भएका छन् भने प्रेस सल्लाहकार जीवन पराजुली नियुक्त भएका छन् । कार्यक्रममा समाजका पदाधिकारीहरु तथा सल्लाहकार सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *