लुनकरणदास-गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने – Nepal Press

लुनकरणदास-गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने

सुनसरी । यहाँको दुहबीमा संचालित लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्द रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः संचालनमा ल्याउने भएको हो ।

बन्द हुनुअघिसम्म १५ शैय्या क्षमतामा संचालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० शैय्या बनाइनेछ । सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ ।

सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराउनेछ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउण्डेसनले जुटाउनेछ ।

नर्भिक अस्पतालका संरक्षक बसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए ।

‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं ।’

करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग/प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आइसीयू लगायतका संरचना निर्माण गरी अस्पताल पुनः संचालन हुनेछ । सो अस्पतालमा डायलासिस सेवा समेत उपलब्ध हुनेछ । अस्पतालमा २४ सै घण्टा स्तरीय आकस्मिक सेवा समेत उपलब्ध हुनेछ ।

अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । आगामी बैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुनेछ ।

चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर