अगस्टभित्रै ७६ लाख डोज भेरोसेल खोप चीनबाट आइपुग्ने, खरिदबाट ६० लाख र अनुदानबाट १६ लाख आउँदै – Nepal Press

अगस्टभित्रै ७६ लाख डोज भेरोसेल खोप चीनबाट आइपुग्ने, खरिदबाट ६० लाख र अनुदानबाट १६ लाख आउँदै

काठमाडौँ । सरकारले चीनबाट यसै महीनाभित्र कोभिड-१९ विरुद्ध थप ७६ लाख भेरोसेल खोप ल्याउने भएको छ । खरिद र अनुदान प्रक्रियाबाट सो परिमाणको खोप ल्याउन लागिएको जनाइएको छ । ६० लाख डोज खोप खरिदका लागि सरकारले साइनोफार्म कम्पनीसँगको नन-डिस्क्लोज एग्रिमेन्टअनुसार यसैसाता भुक्तानी पनि गरिसकेको छ ।

१६ लाख डोज खोप भने चीन सरकारले अनुदानमा दिन लागेको हो । सहमतिअनुसार ६० लाख डोजमध्ये ८ लाख भदौ २ गते र थप ८ लाख डोज भदौ ४ गते आइपुग्ने जनाइएको छ । बाँकी ४४ लाख डोज अगष्ट महिनाभित्रै ल्याउने भनिएको छ । अनुदानमा दिने घोषणा भएको १६ लाख डोज खोप अगष्टभित्रै आइपुग्ने चिनियाँ पक्षले सरकारलाई जानकारी दिएको छ ।

चीनबाट ल्याउन लागिएको सो परिमाणको खोप थप प्राथमिकता समूहका नागरिकलाई लगाइने भएको छ । यसअघि चीनबाट १८ लाख डोज खोप अनुदानमा आएको थियो । खरिदमार्फत ४० लाख डोज खोप पनि आईसकेको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार अहिले आउने भनिएको ६० लाख डोज खोप खरीदको प्रक्रिया पूर्ववर्ती ओली सरकारले गरेपनि सम्झौता र भुक्तानी चाहिँ देउवा सरकारले गरेको हो । सरकारले आगामी चैतभित्र सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर