पाख्रीबास र अमरगढी नगरपालिकासँग काठमाडौं महानगरको भगिनी सम्बन्ध स्थापना – Nepal Press

पाख्रीबास र अमरगढी नगरपालिकासँग काठमाडौं महानगरको भगिनी सम्बन्ध स्थापना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थप दुई वटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।

काठमाडौं महानगरपालिकाले प्रदेश नम्बर–१ को धनकुटास्थित पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको डडेल्धुरास्थित अमरगढी नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो ।

ती नगरबीच गरेको समझदारी पत्रमा काठमाडौं महानगरपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरे । अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सात प्रदेशका सात स्थानीय तहसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने योजना अनुसार यस अघि नै काठमाडौं महानगरपालिकाले कर्णालीको जुम्लास्थित चन्दननाथ, बागमतीको सिन्धुपाल्चोकस्थित मेलम्ची र लुम्बिनीको रुपन्देहीस्थित रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।

हितैषी तथा मैत्रीपूर्ण सम्वन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबिच भगिनी सम्वन्ध स्थापनाको अभियान अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

‘मुलुक भित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापनाले पर्या-पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुगोस् भन्ने हेतूले यस्ता सम्वन्ध स्थापना गरेका हौँ,’ कार्यक्रमपछि सम्वोधन गर्दै प्रमुख शाक्यले भने, ‘आज हामीले पाख्रीवास र अमरगढी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेका छौँ । यी दुई नगर र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ ।’

एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भन्दै पहिलो चरणमा सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको र त्यहि अनुरुप थप दुई नगरसँग सम्बन्ध स्थापना गरेको उनले जानकारी दिए । ‘संयोग नै भन्नुपर्छ धनकुटा स्वर्गीय पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको र डडेलधुरा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हुन्,’ प्रमुख शाक्यले भने, ‘आज यी दुबै जिल्लाका नगरसँग भगिनी सम्वन्ध स्थापना गर्न पाउँदा खुशी लागेको छ ।’

समझदारी पत्रमा हस्ताक्षसँगै काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ पार्क निर्माण गर्न १ करोड ५० लाख सहयोग सम्झौता गरेको छ ।

त्यसैगरी अमरगढी नगरपालिकाको वडा नम्बर–२ र ५ मा अवस्थित अमरगढी पार्क निर्माणका लागि पनि १ करोड ५० लाख सहयोग गरेको छ । ४ सय ५० रोपनी क्षेत्रफल रहेको सो पार्क निर्माणका लागि सहयोग गरेको महानगरपालिकाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *