कोरोनाबाट मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो – Nepal Press

कोरोनाबाट मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

सार्क मुलुकमा नेपालको मृत्युदर भारतमा भन्दा उच्च

काठमाडौं । कोरोनाभाइरस संक्रमणको कारण मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ पुगेको छ ।

भाइरस संक्रमणको १४ महीनामा यतिजना नेपाली नागरिकले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालको मृत्युदर १.५ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

कोरोनाले पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । जेठ ५ गते एकैदिन २ सय ४६ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार पहिलो लहरमा ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा युवाले पनि ज्यान गुमाए । ९ वर्ष तलका ४५ जनाले ज्यान गुमाएका छन् ।

तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने सरकारको अनुमान छ । जसको तयारीका लागि सरकारले १८० भेन्टिलेटरसहितको २७५ आइसीयू बेड थप्ने प्रक्रिया थालनी गरेको छ ।

सरकारले आगामी ५ महीनामा थप २ लाख संक्रमित थपिने प्रक्षेपण गरेको छ । साथै, असोज १५ गतेको छेकोमा तेस्रो लहर आउन सक्ने अनुमान पनि सरकारको छ । दोस्रो लहर समेत २० प्रतिशतभन्दा तल घट्न सकेको छैन ।

सार्क मुलुकमा नेपालको मृत्युदर भारत, भुटान, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर