ओलम्पिक २०२० : तीन राष्ट्रिय कीर्तिमान नेपालको सान्त्वना – Nepal Press

ओलम्पिक २०२० : तीन राष्ट्रिय कीर्तिमान नेपालको सान्त्वना

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३२ औं संस्करणमा पनि नेपाल सहभागितामै सीमित भयो । यद्यपि, यो अपेक्षित नै थियो ।

सन् १९६४ देखि ओलम्पिकमा सहभागिता जनाउन थालेको नेपालले अहिलेसम्म निराशामात्रै हात पारिरहेको छ । ५७ वर्षपछि अहिले पनि जापानमै जारी ओलम्पिकमा पनि नेपाल उही सहभागितामै सीमित भयो । नेपालको लागि सान्त्वनाको पक्ष भनेको तीन राष्ट्रिय कीर्तिमान तोडिनुमात्रै रह्यो ।

यो वर्ष नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पौडीका गौरिका सिंह र एलेक्स साह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी ।

प्रत्यक्ष छनोट नभएर पाँचै खेलाडीले वाइल्ड कार्डमा सहभागिताको अवसर पाएका थिए । तीमध्ये झिनो आशा गरिएको खेल थियो- पौडी । त्यसमा पनि १०० मिटर महिला फ्रि-स्टाइलमा सहभागिता जनाएकी गौरिकासँग अलिकति आशा गरिनु स्वभाविक थियो । किनभने, उनले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्णसहित कुल ९ पदक जितेकी गौरिकाले त्यसअघि पनि एक ओलम्पिकको अनुभव लिइसकेकी थिइन् । तर, उनी पनि दोस्रो राउन्डमा प्रवेश गर्न चुकिन् ।

कस्तो रह्यो पाँच खेलाडीको ओलम्पिक नतिजा ?

नेपालको ओलम्पिक यात्रा पूर्णरूपमा समाप्त भइसकेको छ । यस क्रममा नेपाली खेलाडीले व्यक्तिगत प्रदर्शन सुधार्ने र राष्ट्रिय कीर्तिमान भने प्रायले बनाए । तर, ऐतिहासिक उपलब्धी केही भएन ।

सोनिया भट्ट- जुडो

गत शनिबार जुडोको प्रतिस्पर्धासँगै नेपालको ओलम्पिक यात्रा सुरु भएको थियो । तर, जुडोको प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै टोकियो पुगेकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएसँगै नेपालको एउटा यात्रा त्यही टुंगिएको थियो ।

रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै सोनिया पराजित हुँदा पहिलो चरणबाटै बाहिरिनु परेको थियो ।

कल्पना परियार- सुटिङ

सोही शनिबार भएको अर्को खेलमा नेपालले सुटिङमा प्रतिस्पर्धा गर्दै थियो । र, सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्‍यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्दा कल्पनाले राष्ट्रिय कीर्तिमान भने कायम गरिन् ।

महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै उनले आफ्नो नामको राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन् । सागमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान राखेकी थिइन् ।

एलेक्स साह- पौडी

नेपालबाहिरै बसेर नेपालको प्रतिनिधित्व गरिरहेका एलेक्स साहले पुरुष १०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । उनले पनि आफ्नो इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

आफ्नो हिटमा शीर्ष स्थान हासिल गरेका एलेक्सले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधारे । उनले ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गर्दै ५३.४१ को नयाँ कीर्तिमान बनाए ।

गौरिका सिंह- पौडी

नेपालको सबैभन्दा धेरै अपेक्षा बोकेकी गौरिकाको प्रदर्शन भने यसपाली औसत मात्रै रह्यो । रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा बटुलेकी गौरिकाले आफ्नो हिटसमेत जितेकी थिइन् ।

तर, यो वर्ष भने आफ्नै नामको कीर्तिमान सुधार गरिन् । त्यसबाहेक खासै उपलब्धी हात परेन । उनले २०१९ मा दक्षिण कोरियामा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसीपमा महिला १०० मिटर फ्रि-स्टाइलमा १:००:६२ समयको कीर्तिमान राखेकी थिइन् ।

सोही कीर्तिमानलाई १:००:११ मा छोट्याउँदै कीर्तिमान बनाउनुबाहेक उनले हिट पनि जित्न सकिनन् । हिट-१ मै रहेकी गौरिका नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका गरी चार खेलाडीमध्ये तेस्रो भएकी थिइन् ।

सरस्वती चौधरी- एथ्लेटिक्स

लामो समयदेखि ओलम्पिकका लागि भन्दै तयारी गरिरहेका गोपीचन्द्र पार्कीले ओलम्पिक गुमाएसँगै सरस्वतीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन् । तर, उनको ओलम्पिक अनुभव पनि सहभागितामै सीमित भयो ।

शुक्रबार बिहान भएको १०० मिटर दौडको पहिलो चरणबाटै बाहिरिएकी सरस्वतीले निर्धारित दूरी पार गर्न १२.९१ सेकेन्ड समय खर्चिएकी थिइन् । ९ खेलाडीले प्रतिस्पर्धा गरेको त्यो इभेन्टमा सरस्वती आठौं स्थानमा सीमित भइन् ।

दुई साताको मात्रै तयारी गरेर ओलम्पिक खेल्न जापान पुगेकी सरस्वतीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी थिइन् । तर, त्यो सम्भव भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर