१०४ वर्ष पहिले निर्माण भएको एशियाकै पहिलो सुरुङमार्गको पुननिर्माण शुरु – Nepal Press

१०४ वर्ष पहिले निर्माण भएको एशियाकै पहिलो सुरुङमार्गको पुननिर्माण शुरु

काठमाडौं । बाग्मती प्रदेशको चुरियामाईमा अवस्थित ‘एशियाकै पहिलो’ सुरुङमार्गको पुनर्निमाण सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास गरेका छन् ।

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. सहदेव बहादुर भण्डारीले यो एसियाकै पहिलो सुरुङमार्ग भएको दावी गरे । यसलाई बागमती प्रदेश सरकारले करिब ३ करोड लागतमा पुनर्निर्माण गरेर फेरि सञ्चालनमा ल्याउन लागेको हो ।

सुरुङमार्गको पुनर्निर्माण बैशाखसम्म सक्ने लक्ष्य छ । तर ५ सय मिटरको सुरुङमार्गको २ सय मिटर मात्रै रेक्ट्रोफिटिङबाट पुनर्निर्माण गरेर सञ्चालन गर्नसक्ने अवस्था छ ।

भुकम्पले भएको क्षतिको पुनर्निर्माण, टनेल मजबुत गर्ने र पहिरोले क्षति भएको भागलाई मर्मत गर्न लागिएको हो । यो सुरुङमार्ग पुनर्निर्माणपछि मात्रै कसरी प्रयोगमा ल्याउने भन्ने निर्णय हुने भण्डारीले बताए ।

निर्माणको कथा

हटौंडा र अमलेखगञ्जलाई सडकले जोड्न चुरे पहाडमा १ सय ४ वर्ष पहिलो चुरियामाई सुरुङमार्ग निर्माण भएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाले १९७४ सालमा गरेका थिए ।

जङ्गबहादुरका छोरीतिरका पनाति थापाले भारतको थमसन् कलेज अफ इन्जिनियरिङ देहरादुनमा अध्ययन गरेका थिए । श्री ३ महाराज चन्द्रशमशेर राणाको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेनाको प्रयोग गरिएको थियो । थापा नेपाली सेनाकै इन्जिनियर थिए ।

तराईबाट काठमाडौं उपत्यकामा आपूर्ति सहज बनाउन सो समयमा यातायात सहज बनाउन चन्द्रशमशेरको आदेशमा हेटौंडा–अमलेखगञ्ज सुरुङमार्ग बनेको थियो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ चुरेमा रहेको सुरुङमार्गमा २०१६ सालसम्म गाडी आवतजावत हुने गरेको थियो । तर, २०१६ सालदेखि सुरुङमार्ग बन्द भयो । ६२ वर्षपछि पुनः प्रयोगको लागि पुनर्निर्माण सुरु हुने भएको हो ।

स्वीट्जरल्याण्डबाट नेपालको खानी तथा भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम् अफ नेपाल’ मा चुरियामाईको सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

त्रिभुवन राजपथ बन्न सुरु भएपछि चुरियामाई सुरुङमार्गमा गाडी गुड्न बन्द भएको थियो । माओवादी द्वन्द्व सुरु भएपछि सुरक्षालाई ध्यानमा राखी मान्छे हिँड्न पनि रोक लगाइएको थियो ।

विगतमा उक्त मार्ग हुँदै राजदरबार तथा राणाहरूका लागि सवारीसाधन ओसारिन्थे ।

कस्तो छ चुरियामाईको सुरुङ मार्ग ?

हेटौंडाको चुरियामाईमा रहेको सुरुङमार्गको लम्बाई ५ सय मिटर, चौडाइ ९ फिट र उँचाइ १० फिट छ । १ सय ४ वर्ष अघि यो सुरुङमार्गमा लरी, मालबाहक सवारी साधन छिर्ने आकारमा निर्माण भएको थियो ।

१९९० र २०७२ सालको भकम्पबाट सुरुङलाई धेरै क्षति भने भएको छैन । त्रिभुवन राजपथ बनाउँदा बीचमा धसिएको एक ठाउँ बाहेक अन्य धेरै ठाउँ सद्दे नै छ । धेरै वर्ष पहिलेदेखि बन्द रहेकाले रेक्टोफिट्रिङबाट पुनर्निर्माण हुने भएको हो ।

सुरुङमार्गको डिजाइन गरेका इन्जिनियर थापाले नेपालमा अहिले नाम चलेका धेरै संरचनाको डिजाइन गरेका थिए । उनले काठमाडौं—हेटौंडा रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौं डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक, जनकपुर—जयनगर रेल्वेलको डिजाइनदेखि निर्माणसम्मको नेतृत्वसमेत गरेका थिए ।

नेपालमा अहिले नागढुंगा-नौविसे सुरुङमार्ग, भिफेदी-कुलेखानी सुरुङमार्ग निर्माणधीन छन् भने सिद्धबाबामा पनि सुरुङमार्ग निर्माणको लागि ठेक्का प्रक्रिया सुरु भएको छ । अन्य ठाउँमा पनि सुरुङ निर्माणको चर्चा हुने गरेको छ ।

पछिल्लो समय विश्वभर नै सुरुङमार्ग निर्माण तीब्र भएको छ । त्यसको सकारात्क प्रभाव नेपालमा पनि परेको छ । खानेपानी र विद्युत् परियोजनाका लागि सुरुङको प्रयोग वृद्धि हुँदै गइरहेको छ । नेपालमा पनि मेलम्ची खानेपानी आयोजनाका लागि २७ किलोमिटर लामो सुरुङमार्ग प्रयोग गरेर पानी आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *