नेपाल निवासमा छलफल- फैसलाअघि सम्झौता हुन्न, घात गर्ने वार्ता टोली किन चाहियो ? – Nepal Press

नेपाल निवासमा छलफल- फैसलाअघि सम्झौता हुन्न, घात गर्ने वार्ता टोली किन चाहियो ?

माधव नेपालले भने- सर्वोच्चको फैसलाले शक्ति सन्तुलन बनाउँछ, त्यसपछि विचार गरौंला

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने प्रष्ट पारेका छन् । आफू निकट केन्द्रीय सदस्य र सांसदहरुसँग आइतबार छलफलका क्रममा नेता नेपालले आफूले पद नखोजेको समेत प्रष्ट पारेका छन् ।

केन्द्रीय सदस्यहरुसँग नेपालले भने- सर्वोच्चको फैसलाले एकखालको राजनीतिक शक्ति सन्तुलनको स्थिति बनाउछ । त्यसपछि दुवै पक्षले आफ्नो शक्ति बुझिन्छ र बदलिदो परिस्थितिमा सम्झौता हुनसक्छ । २८ गते रियालिटी परिवर्तन हुँदैछ भने २७ गते किन सम्झौता गर्ने ?

बैठकमा नेता नेपालले आफूलाई अध्यक्ष वा प्रधानमन्त्री पद नचाहिएको बताएको पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । तर केपी ओलीको अनियन्त्रित राज्य र पार्टी सन्चालनको तरिकामा अंकुश लगाउन आवश्यक रहेकाले सम्झौताका नाममा लिपपोतका भाषा स्वीकार्य नहुने नेपालको अडान रहेको छ ।

नेपालको भनाइ उदृत गर्दै अर्का एक सांसदले भने- केपी ओलीका स्वेच्छाचारी क्रियाकालपविरुद्ध लागेका कार्यकर्ताको सुरक्षा हुनुपर्छ । लिपिपोति भाषाले हुन्न, १२/१५ बुँदामा एक/एक गरेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ, त्यसका लागि आजै हतार गर्नुपर्ने छैन ।

छलफलमा सहभागी केन्द्रीय सदस्य र सांसदहरुले सर्वोच्च अदालतको फैसलाअघि कुनै पनि सम्झौता नगर्न नेपाललाई दबाब दिएका छन् । उनीहरुले जे गर्ने हो अब अदालतको फैसलापछि हुने बताएका छन् ।

वार्ता टोलीप्रति आक्रोश

माधव नेपालसँगको छलफलमा सहभागी नेताहरुले वार्ता टोलीमा आफ्नो समूहबाट प्रतिनिधित्व गर्ने नेताहरुको भूमिकामाथि समेत संशय व्यक्त गरेका छन् । माधव नेपाल समूहबाट प्रतिनिधित्व गर्ने तर समूहमाथि नै घात गर्ने नेता किन चाहियो भन्ने प्रश्न उनीहरुले उठाएका थिए ।

‘माधव नेपाल स्वयंलाई घात गर्ने वार्ता टोलीको सदस्य किन चाहियो ? वार्ता टोलीका सदस्य सार्वभौम होइनन्, उनीहरुले माधव नेपालको समूहलाई प्रतिनिधित्व गरेका हुन्, जब हाम्रो टिम नै वार्ताको टोलीको विपक्षमा उभिन्छ भने त्यो किन चाहियो ?’ बैठकमा सहभागीहरुले नेपाल समक्ष प्रश्न गरेका छन् ।

वार्ता टोलीले गर्ने जस्तासुकै सम्झौता स्वीकार गर्न सांसद र केन्द्रीय सदस्यहरु तयार नरहेको सांसद तथा केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए । सहअस्तित्व र समानताका आधारमा एकता हुनुपर्ने भन्दै उनीहरुले कार्यदलबाट त्यो सम्भव नरहेको समेत बताएका छन् ।

बैठकका सहभागीहरुले भीम रावल र सुरेन्द्र पाण्डेको भूमिकाप्रति अशन्तुष्ट प्रकट गर्दै उनीहरुले समूहको भावनाविपरित उल्टोपाल्टो सम्झौता गर्न खोजेको आरोप लगाएका थिए । केही नेता सम्झौता गरेर गए पनि देशभरका कार्यकर्ताले माधव नेपाललाई नै साथ दिने भन्दै खुट्टा नकमाउन आग्रह गरिएका बैठकका सहभागीले बताए ।


प्रतिक्रिया

One thought on “नेपाल निवासमा छलफल- फैसलाअघि सम्झौता हुन्न, घात गर्ने वार्ता टोली किन चाहियो ?

  1. ल मानौं बार्ता टोलीले सहमति गरेर माकुनेलाई घात भयो रे ! तर अरु पार्टीका नेतासंग मिलेर आफ्नै पार्टी लाई कर्णाली प्रदेस सरकार , लम्बिनी प्रदेस सरकार , प्रधानमन्त्रीको बिश्सवासको मतमा , गण्डकी प्रदेस सरकार , बागमति र १ नं प्रदेस सरकार , देउवालाई प्रम बनाउन हस्ताक्षर , बिपक्षीसंग मिलेर आफ्नै सरकार बिरुध्द सडक आन्दोलन र पुत्ला दहन , आफ्नै पार्टी र सरकार बिरुध्द सार्वजनिक रुपमा अनर्गल तुच्छ गाली गलौंच , राष्ट्रिय सभा निर्वाचन , समानान्तर कमिटि गठन लगायत एमाले सिध्याउने हरकतहरु चैं कति राम्रा काम हुन हइ नेताज्यू ! जनता मुर्ख छन् केहि बुझ्दैनन् भन्ने सोचेका होलान् अब आउने चुनावले देखाउंछ नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर