कांग्रेस महाअधिवेशन: भोटिङ र सेटिङभन्दा माथि उठाउने कि ! – Nepal Press

कांग्रेस महाअधिवेशन: भोटिङ र सेटिङभन्दा माथि उठाउने कि !

विश्वव्यापी महामारीका कारण अर्थतन्त्र शिथिल बन्दै गएको छ । अर्थतन्त्र र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारको चुनौती सामना गर्नुपर्ने अवस्था छ । लकडाउनको कारण लाखौ युवा बेरोजगार भएका छन् भने भने हजारौ व्यावसायी धारासयी बनेका छन् । कोभिड १९ को नयाँ लहरसंगै स्वास्थ्य संकट पनि नयाँ ढंगले गहिरिदाेँ छ ।

यसैबीच नेपाली काँग्रेस १४ औँ महाधिवेशनको संघारमा छ । संवैधानिक बाध्यता र पार्टीको आन्तरिक आवश्यकताका कारण महाधिवेशनमा होमिएको कांग्रेसमा नीतिभन्दा नेता चयनको विषय सधैं प्राथमिकतामा पर्दै आइरहेको छ । कोरोनाका कारण उत्पन्न अर्थतन्त्रका अप्ठ्यारा फुकाउनेबारे देशको प्रमुख राजनीतिक दलका रुपमा कांग्रेसले कस्तो नीति ल्याउला भन्नेमा सबैको चासो छ ।

सरकार अस्पताल शिलान्यास गर्छ तर भएका अस्पतालमा उपकरण र डाक्टर अभाव भएको वर्षौ भइसक्यो । निजी विद्यालयको अधिक शुल्कको कारण अभिभावकहरु निरन्तर मारमा छन् । सरकारी विद्यालय कोमाको बिरामी जस्तो भएका छन् । महँगी र भ्रष्टाचारको कुरा गर्न लाजमर्दो भइसक्यो ।

जनताको दैनिकीसंग जोडिएका यस्ता विषय राजनीतिक दलको मुद्धा अझैसम्म हुन सकेका छैनन् । विश्वभर विकास र समृद्धिको लहर सुरु भएको छ । नेपालमा सधैं राजनीतिक किचलो नै बहसमा रहने गरेको छ । जलवायु परिवर्तन, रोजगारी, स्वास्थ्य, शिक्षा, सुशासन, तथा पर्यावरणमैत्री विकाश निमार्णको बहस अब कांग्रेसजस्तो पार्टीको एजेण्डा हुनुपर्ने देखिन्छ ।

काँग्रेसका पछिल्ला महाधिवेशन फगत नयाँ नेतृत्व चयनमा मात्र सिमित भए । कार्यकर्ताले चुनावी जोडघटाउको अभ्यासबाहेक केही सिक्न पाएनन् । यसको मतलब उत्प्रेरणा दिने कार्यक्रम केही भएन भन्ने हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको बिषय बुझाउन सकिएन । फेरि पनि कांग्रेसले इतिहासको ब्याज खाने तर सुन्दर भविष्यको आश देखाएर वर्तमानमा काम गर्न नसक्ने हो भने कांग्रेसकै औचित्यमाथि प्रश्न उठ्नसक्छ ।

यसरी गरौं महाधिवेशन

महाधिवेशनमा युवा उद्यमशीलता कहिल्यै मूल मुद्धा भएन । पार्टीमा युवाको पहुँच तथा आकर्षण बढाउने नयाँ कार्यक्रमको सुरुवात हुन सकेन । जलवायु परिवर्तन, युवा उद्यमशीलता, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता जनताका अत्यावश्यक विषयममा महाधिवेशन केन्द्रीत हुनुपर्ने हो । पहिला भएन भनेर अब पनि चुप लागेर बस्ने कि केही नौलो सुरुवता गर्ने ? युवाको सहभागिता र आकर्षणको केन्द्र बनाउने महाधिवेशनबारे सोच्ने बेला भएको छ ।

महाधिवेशन भन्ने बित्तिकै भोटिङ र सेटिङ बुझ्ने परम्परा स्थापित भइसकेको छ । शहर केन्द्रित पट्यारलाग्दो हल वा भिडभाड भन्ने कुरा दिमागमा आउन थालेको छ । देश विदेशबाट जम्मा हुने पाँच हजार बढी महाधिवेशन प्रतिनिधिको भेला अत्यन्तै रोचक हुन्छ । पाहुना, पर्यवेक्षक, पत्रकार, र बाहिरी आगन्तुकको कारण भेला अर्थपूर्ण जस्तो देखिन्छ ।

कांग्रेस महाधिवेशनको चासो अन्तर्राष्ट्रिय समुदायलाई पनि हुने गरेको पाइन्छ । त्यसैले कांग्रेस महाधिवेशनलाई राजनीतिक नेतृत्व चयनभन्दा पनि उपयुक्त रणनीति निर्धारणको थलो बनाउन जरुरी छ । कांग्रेसको महाधिवेशन विश्व राजनितिमै कमजोर बन्दै गएको सामाजिक लोकतन्त्रको नयाँ बहस सृजना गर्ने अवसरको रुपमा परिणत गनुपर्छ । त्यसको लागि महाधिवेशनको मुद्धादेखि स्थानसम्मले भूमिका निर्वाह गर्छ ।

कहाँ र किन गर्ने ?

महाधिवेशन सहरका ठुला भवन तथा हलमा हुनुले खास अर्थ राख्दैन । नेपाली कांग्रेस जनताको पार्टी हो भन्ने महसुस गराउन जनताकै आँगनमा महाधिवेशन गर्नुपर्छ । नेपाल चिनाउने ऐतिहासिक स्थलहरु त्यसको लागि उपयुक्त स्थान हुन सक्छन् । पर्यटनको सम्भावना भएका ठाउँहरु तथा राष्ट्रिय सन्देश दिने स्थानमा महाधिवेशन गरिनुपर्छ । वीपी कोइरालासँग महत्व राख्ने वा लोकतान्त्रिक आन्दोलनसंग जोडिएका स्थानमा महाधिवेशन गर्न सकिन्छ । यसबाट नेपाली काँग्रेसप्रति जनताको विश्वास र कार्यकर्ताको भरोसा बृद्धि हुनेछ ।

कसले के गर्ने ?

केन्द्रीय समितिको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यतित्वलाई प्रमुख वक्ताको रुपमा उपस्थित गराउन सकिन्छ । नेपाली काँग्रेसको समाजिक, आर्थिक, राजनीतिक तथा अन्तर्राष्ट्रिय नीतिको विषयमा कार्यकर्तालाई प्रशिक्षित गराउने सुनौलो मौका यही हो । त्यतिमात्र नभएर आर्थिक तथा कुटनीतिक विषयमा छलफलको विशेष सत्र सञ्चालन गर्न सकिन्छ । जसबाट काँग्रेसले अख्तियार गर्ने नीतिलाई थप सबल एवं सुदृढ बनाउन टेवा पुग्छ ।

त्यस्तै विभिन्न प्रतिष्ठानको तर्फबाट बिपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सुवर्णसमशेर राणा, गिरीजाप्रसाद कोइरालाको व्यक्तीत्व झल्कने गरी डकुमेन्ट्री प्रदर्शन गर्न सकिन्छ ।

काँग्रेस भित्र अघिल्लो र पछिल्लो पुस्ताबीच बढ्दै गइरहेको दूरी मेटाउन र काँग्रेसको इतिहास बुझाउन यो कार्यक्रम प्रभावकारी हुनेछ । युवाहरुको राजनीतिक चेतनालाई थप निखार्न बहस तथा छलफल जरुरी भइसकेको छ । काँग्रेसको नर्सरी मानिएको नेपाल विद्यार्थी संघ विचारहीन दस्ता जस्तो देखिन थालेको छ ।

नेबिसंघलाई नै महाधिवेशनमार्फत युवाहरुको आगामी योजना, रणनीति र मुद्धाको बारेमा कार्यपत्र प्रस्तुतको अवसर दिइनुपर्छ । जसमा नेविसंघ तरुणदलका युवाहरुको उपस्थिति अनिवार्य गरिनुपर्छ । जसबाट युवाहरुमा लोकतान्त्रिक चेतना र समाजवादी भावनाको विकास गराउन मद्धत पुग्छ । काँग्रेस र लोकतान्त्रिक आन्दोलनसंग सम्बन्धित पुस्तकको प्रदर्शनीले महाधिवेशनको आकर्षण बढाउन सक्छ ।

जलवायु परीवर्तन, रोजागरी तथा उद्यमशिलताको नयाँ बहस चलाउन आवश्यक भइसकेको छ । काँग्रेस कार्यकर्तामा त्यसको पछिल्लो अवस्था र आगामी कार्यदिशाबारे जानकारी गराउनु पर्छ । तत्काल विभिन्न विभागमार्फत यसको व्यवस्थापन मिलाउन सकिन्छ । जनसम्पर्क समितिहरुलाई अन्तर्राष्ट्रिय प्रचार प्रसारमा परिचलान गर्नुपर्छ ।

नेपाल चिकित्सक संघमार्फत चिकित्सकीय परामर्शको काम गर्न सकिन्छ । संघमा आवद्ध चिकित्सकद्वारा कोरोना भाइसर तथा अगामी दिनमा आउन सक्ने स्वास्थ्य चुनौतीको बारे बहस चलाउनुपर्छ । नेपाल किसान संघले कृषि उपज, उत्पादनको बजारीकरण तथा कृषिमा आधुनिकीकरण बारे जानकारी गराउनुपर्छ ।

नेपाल तरुण दलमार्फत स्वयम्सेवक परिचालन गर्नुपर्छ । महाधिवेशनमा आएका बिचार तथा देखिएका नयाँ दृश्यबारे अनुसन्धान गर्ने टिम बनाउनु पर्छ । जसले गर्दा आागामी दिनमा मार्गनिर्देश हुने र वास्तविक अवस्था बुझ्ने अवसर प्राप्त हुनेछ ।

काँग्रेसले बोकेको जलवायु परिवर्तन र ग्रिन इकोनोमी जस्ता विश्वव्यापी मुद्धामा अन्तराष्ट्रिय चासो बढ्नसक्छ । जसले गर्दा अन्तराष्ट्रिय स्तरमा पुरानो साख फिर्ने देखिन्छ । महाधिवेशनकै कारण आझेलमा परेका राष्ट्रिय महत्वका ठाउँहरुको उजागर हुनेछ ।

स्थानीय स्रोतको पहिचान भई कला, संस्कृतीको प्रबर्धन हुनुको साथै त्यसको राजनीतिक तथा सामाजिक महत्व प्रष्ट हुन्छ । युवाहरुको उपस्थिति र जिम्मेवारीलाई देखेर काँग्रेसप्रति युवाको आकर्षण तथा सहभागितामा बृद्धि हुनेछ ।

त्यतिमात्र नभई कांग्रेसजनको बृहत्तर सम्पर्क र भाईचाराको विकास हुन्छ । महाधिवेशनको भीड र झण्झटीलो प्रकृया भन्ने मानसिकता केही हदमा दुर हुनेछ । स्फुर्ती र ऊर्जाशील महोत्सवको रुपमा महाधिवेशन सम्पन्न हुनेछ ।

(लेखक बिपी अध्ययन प्रतिष्ठान मोरङका अध्यक्ष हुन्)


प्रतिक्रिया

One thought on “कांग्रेस महाअधिवेशन: भोटिङ र सेटिङभन्दा माथि उठाउने कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *