एमालेको माधव समूह जेठ २ को चट्टानी अडानबाट ब्याक भएको हो ? – Nepal Press

एमालेको माधव समूह जेठ २ को चट्टानी अडानबाट ब्याक भएको हो ?

काठमाडौं । नेकपा एमालेमा समानान्तर पार्टीको अभ्यास गर्दै आएको माधव नेपाल पक्षका १४ जना स्थायी कमिटी सदस्यहरूको तर्फबाट बिहीबार माधव नेपालले हस्ताक्षर गरेको विज्ञप्तिले एमालेका सबै संरचनालाई २०७५ जेठ २ अघि फर्काउनुपर्ने सो समूहको आफ्नै अडानलाई खण्डित गरेको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ ।

२०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि माधव नेपाल पक्षले एमालेका सबै कमिटी र संरचनाहरू नेकपा एकीकरण अघि अर्थात जेठ २ अघिकै अवस्थामा फर्काउनुपर्ने सर्त राखेर अध्यक्ष केपी ओलीले बोलाएका बैठकहरू बहिष्कार गर्दै आएको छ ।

तर, बिहीबार जारी विज्ञप्तिमा स्थायी कमिटी सदस्यका रुपमा उल्लेखि बेदुराम भुसाल, रघुजी पन्त र पदेन स्थायी कमिटी सदस्य भनिएका प्रमेश हमाल जेठ २ अघिको एमाले स्थायी कमिटीका सदस्य होइनन् । भुसाल र पन्त जेठ ३ पछि अर्थात नेकपामा स्थायी कमिटी सदस्य बनेका थिए ।

त्यसबेला एमाले कोटाबाट चारजना नयाँ स्थायी कमिटी सदस्य थप्दा ओली पक्षबाट रघुवीर महासेठ र विष्णु रिमाल तथा माधव पक्षका बेदुराम भुसाल र रघुजी पन्त परेका थिए । प्रमेश हमाल भने कहिल्यै स्थायी कमिटीमा थिएनन् ।

नेपाल पक्षको स्थायी कमिटी सदस्यका रुपमा पन्त र भुसाल बैठकमा भाग लिइरहेका छन् । पछिल्ला वक्तव्यहरुमा समेत यी नेताको नाम स्थायी कमिटी सदस्यका रूपमा आइरहनुले माधव पक्षले उठाउँदै आएको जेठ २ को कुनै औचित्य छैन भन्ने उनीहरूले नै पुष्टि गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका एमाले नेता सूर्य थापा बताउँछन् ।

उनले भने, ‘जेठ २ भन्नु नै बेतुकको कुरा हो भन्ने उहाँहरुले नै पुष्टि गरिरहनुभएको छ । यो पूरानो एमाले होइन नेकपा एकतापछि पुनर्गठन भएको एमाले हो भन्ने कुरा उहाँहरूले पनि स्वीकार गर्नुभएको छ । उद्देश्य अरु नै राखेर जेठ २ को रट लाउनु फरक कुरा हो ।’

एमाले अध्यक्ष ओलीले हालै आफू पार्टीका सबै संरचनाहरुलाई जेठ ३ अघिको अवस्थामा फर्काउन तयार रहेको लिखित प्रस्ताव अघि सारे पनि नेपाल पक्षले त्यसमा संशय जनाएको छ । तर, नेपाल पक्षका बैठकमा भने २०७५ जेठ २ पछि थपिएका अर्थात नेकपाकालीन सदस्यहरू पनि सहभागी हुने गरेका छन् ।

ओलीले नेकपामा थपिएका सदस्य र नेकपा एकता बदरपछि एमाले बनेका नेकपाकालका नेताहरूलाई समेटेर बोलाएको बैठक अवैधानिक भन्दै आएको माधव नेपाल पक्षका बैठकमा जेठ २ पछि नेकपामा केन्द्रीय सदस्य भएका सदस्यहरुको सहभागिता रहँदै आएको छ ।

यो दोहोरो मापदण्ड भएको भन्दै तिलकुमार मेयाङ्बो, विष्णु रिजाललगायतका नेताले माधव समूह छाडेका थिए । उनीहरू जेठ २ पछि नेकपा एमालेबाट थपिएर नेकपाको केन्द्रीय सदस्य बनेका थिए । ती ४१ जनालाई नमान्ने नेपाल पक्षको अडान छ भने ४१ भित्रकै नेपाल पक्षका सदस्य भने एमाले केन्द्रीय सदस्यकै रूपमा नेपाल समूहको बैठकमा भाग लिइरहेका छन् ।

नेपाल पक्षकी नेता अष्टलक्ष्मी शाक्य भने समस्या दुवैतिर रहेको भन्दै शीर्ष नेतृत्वबीच पार्टी एकतामा सहमति भएपछि हिजो नेकपामा रहेका वा एमालेबाट नेकपामा केन्द्रीय सदस्य वा स्थायी कमिटी सदस्य बनेकाहरुको तीनै कमिटीमा व्यवस्थापन गर्न समस्या नहुने बताउँछिन् ।

शाक्यले नेपाल प्रेससँग भनिन्, ‘समस्या दुवैतिर छन् । माओवादीबाट आएका कमरेडहरुको पनि कुरा छ । बेदुरामजी र रघुजीहरुको सन्दर्भमा पनि त्यही हो,उहाँहरु जेठ २ अघिको स्थायी कमिटी सदस्य होइन तर पार्टी मिलिसकेपछि उहाँहरुको हकमा केही समस्या हुन्न ।’

प्रमेश हमाललाई नेपाल पक्षले लेखा परीक्षण आयोगको अध्यक्षका रूपमा पदेन स्थायी कमिटी सदस्य बनाएको छ । तर नवौं महाधिवेशनबाट निर्वाचित कमिटी जस्ताको तस्तै हुनुपर्ने अडान राखेको सो समूहले हमाललाई कसरी पदेन सदस्य बनायो भन्ने नेपाल पक्षकै नेताहरू अन्योलमा छन् ।

नवौं महाधिवेशनबाट लेखा परीक्षण आयोगको अध्यक्षमा डा. पुष्प कँडेल निर्वाचित भएका थिए । एमालेको विधान अनुसार लेखा आयोग, अनुशासन आयोग, सल्लाहकार परिषद् र निर्वाचन आयोगका अध्यक्षहरू पदेन स्थायी कमिटी हुने व्यवस्था छ ।

नवौं महाधिवेशनबाट निर्वाचित पदेन स्थायी कमिटी सदस्यहरुमध्ये अनुशासन आयोगका अध्यक्ष बोहरामात्र माधव नेपाल पक्षका छन् । निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी प्रदेश प्रमुख भएपछि सो पद रिक्त छ भन् सल्लाहकार परिषद्‍का अध्यक्ष केशव बडाल र लेखा आयोगका अध्यक्ष कँडेल ओली पक्षका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर