माधव नेपालको जवाफ : ओलीको प्रस्ताव एकता गर्न होइन, अल्मल्याउन (विज्ञप्तिसहित) – Nepal Press

माधव नेपालको जवाफ : ओलीको प्रस्ताव एकता गर्न होइन, अल्मल्याउन (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता आह्वान आफूहरुलाई विभाजित गर्ने दुराशयका साथ आएको दावी गरेका छन् ।

आफ्नो समूहको बैठकपछि एकल विज्ञप्ति जारी गर्दै उनले अदालतमा दायर गरिएको रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको शर्त पनि अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री ओली स्वयमले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने नेपालको आशय छ ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको छ । उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ ।’

ओलीले गरेका अन्य प्रस्तावहरु पनि छलछालयुक्त भएको नेपालको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुंदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मलयाउने र विभाजित गर्ने दुराशय देखिन्छ । अतः पार्टी विधानअनुरुप पार्टीलाई एकताबद्ध बनाउने वहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं ।’

आफूहरु सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहेको भन्दै नेपालले अन्तिम घडीसम्म यसका लागि सकारात्मक प्रयास जारी राख्ने उल्लेख गरका छन् ।

‘अहिले पनि हामी त्यही चाहन्छौं र नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने सबै प्रकारका षडयन्त्रहरु पराजित हुनुपर्छ भन्ने दृढ मान्यता राख्दछौं । हामीले बाध्यात्मक स्थितिमा मात्र वैकल्पिक मार्ग अवलम्बन गर्ने दृष्टिकोण राख्छौं ।’ नेपालले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर