एमाले सुर्खेत सचिवबाट निकालिएका नेता बडुवाल भन्छन्ः आत्मसमर्पण गर्नेछैन – Nepal Press

एमाले सुर्खेत सचिवबाट निकालिएका नेता बडुवाल भन्छन्ः आत्मसमर्पण गर्नेछैन

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सचिवबाट हटाइएका मोहनसिंह बडुवालले यो कारबाहीले आफ्नो राजनीतिक जीवनमा कुनै असर नपार्ने प्रतिक्रिया दिएका छन् । उनलाई समानान्तर कमिटीको नेतृत्व गरेको आरोप लगाइएको छ ।

जिल्ला सचिवालय बैठकले समानान्तर कमिटी बनाएर नेतृत्व गरेको भन्दै आइतबार उनलाई कारबाही गरेको थियो । त्यसयता सामाजिक सन्जालमार्फत उनले भनेका छन्, ‘म यतिबेला पुर्नगठित नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको अध्यक्षको जिम्मेवारी बहन गरि रहेको छु ।

कोहि भ्रममा नपर्नु होला कसैले पनि स्पष्टीकरण दिनुपर्दैन, यसको प्रमुख जिम्मेवारी म नै लिनेछु । बिचार अनि जनताको अधिकारसहितको व्यवस्था प्राप्तिको लागि हाम्रा अग्रजहरुले हासीहासी बलिदानी दिएको इतिहासका सम्बन्धमा सबै जानकार नै हुनुहुन्छ । म त्यो लाइनमा नामलेख्न तयार छु, तर कुनै पनि हालतमा म आत्मसमर्पण गर्नेछैन । म जस्तो सुकै परिस्थितिमा पनि निष्ठा र सत्यको पक्षमा लागिरहने छु ।’

उनले सुर्खेती कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘तपाईंको कारबाहीबाट कुनै गुनासो छैन । कमरेड तपाईंबाट यो निर्णय हुन्छ भन्ने मलाई हेक्का नै थियो । २०५४ सालमा लगाम गाउँ कमिटी सचीव जिम्मेवारीपछि तहगत रुपमा इलाका कमिटी सचीव, जिल्ला कमिटीको सचिवको जिम्मेवारी बहन गर्दै अहिले यो जटिल अबस्थाको अध्यक्षको जिम्मेवारी लिँदा मलाई पार्टी अनुशासनबारे राम्रोसँग जानकारी छ,’ उनले अगाडि लेखेका छन्, ‘यो हाम्रो रहर होइन बाध्यता हो जुन परिस्थिति तपाईहरुले बुझ्न सक्नु भएन यसमा मात्र सानो गुनासो रहिरहने छ । निरन्तर, सल्लाह, सुझाब, सहयोग, सहभागिता, सहकार्यका लागि सबैलाई हार्दिक आभारसहित धन्यवाद ।’

सत्य सबैलाई बुझाउन नसक्नु आफ्नो कमजोरी भएको बताउँदै उनले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि सबैको समर्थनको आह्वान पनि गरेका छन् । बडुवालले आफूहरुको चाहना २०७५ जेठ दुई गतेको नेकपा एमाले भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर